Logo

नेपालको सबैभन्दा पुरानो व्यवसायीक संस्था ‘चेम्बर’को ७० वर्षे यात्रा, महासंघको जन्मदातादेखि व्यवसायीक आन्दोलनको नेतृत्वसम्म

नेपालको सबैभन्दा पुरानो व्यवसायीक संस्था ‘चेम्बर’को ७० वर्षे यात्रा, महासंघको जन्मदातादेखि व्यवसायीक आन्दोलनको नेतृत्वसम्म



काठमाडौं । नेपालको सबैभन्दा पुरानो व्यवसायीक संस्था नेपाल चेम्बर अफ कमर्स ७० बर्षमा प्रवेश गरेको छ । वि. स.२००७ सालमा असोज २७ गते स्थापना भएको सो संस्था आजदेखि ७० बर्षमा प्रवेश गरेको हो ।

नेपालमा प्रजातन्त्र आउनुभन्दा अघि स्थापना भएको सो संस्था नेपालको उद्योग व्यापार क्षेत्रको विकासका लागि अग्रणी भुमिका निर्वाह गर्दै आएको छ । सोही संस्थाको नेतृत्वमा बि.स २०१२ अर्थात सन् १९५५ मा पहिलो उद्योग र वाणिज्य सम्बन्धी राष्ट्रिय सम्मेलन गरेको थियो । स्थापना कालदेखि नै उद्योग वाणिज्य क्षेत्रको विकास र आर्थिक सम्बृद्धि तथा अन्य ब्यावसायीक गतिविधिका क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्दै आएको नेपाल चेम्बर अफ कमर्सले सरकारलाई औद्योगिक, वाणिज्य र अन्य वित्तीय मामिलाका लागि नीति नियम तर्जुमा गर्न सुझाव र सल्लाह प्रदान गर्दै आएको छ ।

वि.स. २००७ सालमा ‘वणिक मण्डल’ गठन भई सुरु भएको सो संस्था वि.स. २००९ साल असोज २७ गते अखिल नेपाल व्यापार संघको नामवाट दर्ता भएको थियो । तर वि.स. २०१० साल कार्तिकमा प्रथम साधारण सभाले नाम परिवर्तन गरी नेपाल चेम्बर अफ कमर्स कायम गरेको थियो ।

तत्कालिन समयमा चीनका प्रधानमन्त्री चाउ एन लाइ तथा भारतका प्रधानमन्त्री जवाहरलाल नेहरुको सम्मानमा स्वागत समारोह आयोजना गरेको चेम्बरले अहिले पनि अग्रणी रुपमा व्यवसायीक हकहितका कार्यक्रम गर्दै आएको छ ।

चेम्बरलाई नेपाल उद्योग वाणिज्य महासंघको जन्मदाताको रुपमा समेत लिईन्छ । चेम्बरकै नेतृत्वमा बि.सं. २०२२ नेपाल उद्योग वाणिज्य महासंघको स्थापना भएको थियो । चेम्बरका तत्कालिन अध्यक्ष लोकनाथ जोशीले जिल्लाका उद्योगी व्यवसायीका समस्या सम्बोधन गर्नका लागि आफ्नै अध्यक्षतामा महासंघ गठन गरेका थिए ।

चेम्बरकै नेतृत्वमा वि.स.२०५६ देखि निकासीमा उल्लेख्य योगदान पुर्याउने संस्था तथा कम्पनीहरुलाइ सम्मान गर्ने परम्परा सुरुआत भएको थियो ।

चेम्बर आन्दोलनलाई अभियानको रुपमा विस्तार गर्न र व्यवसायिक क्षेत्रको सशक्तिकरणका लागि विभिन्न गतिविधिहरू प्रोत्साहित गर्न समर्पित रहदै आएको चेम्बरले निजी र सरकारी क्षेत्रबीच पुलको भूमिका निर्वाह गरिरहेको छ । नेपाल चेम्बर अफ कमर्सले प्रदेश, जिल्ला तथा नगर चेम्बर अफ कमर्स, वस्तुगत संघ, आवद्ध संघ लगायत द्धिपक्षीय वाणिज्य तथा उद्योग संघहरुको प्रतिनिधित्व गर्दछ । नेपाल चेम्बर अफ कमर्सले ७०वटा अन्तरराष्ट्रिय चेम्बर अफ कमर्सहरुसँग आर्थिक कृयाकलाप विस्तार गर्न समझदारी पत्र मार्फत सम्बन्ध स्थापित गरेको छ ।

मुलुकभरका उद्योगी तथा ब्यवशायीहरुको संलग्नता भएको नेपाल चेम्वर अफ कमर्सको विधान मन्त्रिपरिषद्बाट बि.सं. २०७४ सालमा संसोधन भइ तदनुरुप नेपालको संघीय प्रणाली बमोजिम नेपाल चेम्बरलाई महासंघको संरचनामा प्रदेश, जिल्ला, नगर तथा गाउपालिका तह र वस्तुगत संघ, आवद्ध संघ तथा द्धि राष्ट्रिय संघ संस्थाहरुसम्म सदस्यहरु बिस्तार गरिएको छ । हाल चेम्बरको ७ वटै प्रदेश, ६७ वटा जिल्ला र ४६ वटा नगर चेम्बर गठन भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL