काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको र विदेशी मुद्रा अपचलन गरेको आरोपमा ५ जनाविरुद्ध मुद्धा दायर गरेको छ । विभागले झुट्टा तथा नक्कली मूल्य अभिवृद्धिकर विजक प्रयोग गरी राजस्व चुहावट गरेको आरोपमा ललितपुरस्थित मनिष ट्रेडिङ कन्सर्नका कारोबारी किशोर यादवलगायत ३ जना र बारास्थित साहारा एण्ड खातुन ट्रेडर्सका कविरन खातुनविरुद्ध उक्त मुद्धा दर्ता गरेको हो । विभागले उक्त ४ जनाविरुद्ध २३ करोड २२ लाख रुपैयाँ विगो असुल उपर हुनेगरी मुद्धा दर्ता गरिएको बताएको छ । विभागले उक्त २ ओटा मुद्धा उच्च अदालत पाटनमा दर्ता गरेको हो ।
विभागले झुट्टा तथा नक्कली मूल्य अभिवृद्धिकर विजक प्रयोग गरी राजस्व छली गरेको आरोपमा ललितपुर महालक्ष्मी १ स्थित मनिष ट्रेडिङका साहु किशोरी यादवसहित ३ जनाविरुद्ध १३ करोड २५ लाख ८८ हजार २ सय ६३ रुपैयाँ बराबरको विगो दावी माग गरेको छ ।
विभागका अनुसार उक्त कम्पनीले निम्न आय भएको व्यक्तिका नाममा फर्म दर्ता गरी मालवस्तुको झुठो विवरण दिएको थियो ।
यस्तै अर्का प्रतिवादी बाराको रामपुरस्थित टोकनी ३ का कविरन खातुन छन् । उनले आफ्नो सहारा एण्ड खातुन ट्रेडर्समा बस्तु तथा सेवा खरिद गरी नक्कली विवरण पेस गरेका थिए । सोही अनुसार विभागले पाटन उच्च अदालतमा उनिविरुद्ध ९ करोड ९६ लाख ५४ हजार ७ सय ६१ रुपैयाँ बराबरको विगो माग दावी गरी मुद्धा दायर गरिएको हो ।
यस्तै विभागले विदेशी मुद्रा अपचलनमा संलग्न हाईटेक ईन्टरनेशनल प्रालीका हरि कुमार श्रेष्ठविरुद्ध पनि १ अर्ब ७१ करोड ५६ लाख रुपैयाँ बराबरको विगो दावी माग गरी ३ बर्षको सजाय माग गर्दै मुद्धा दायर गरेको छ । विभागले उक्त प्रतिवादी श्रेष्ठले भन्सार चोरी पैठारी गरेका मालवस्तुहरुको भुक्तानीको लागि गैर कानुनी रुपमा विदेशी मुद्रा विदेश पठाई विदेशी विनिमय अपचलन गरेको आरोप लगाएको छ ।
यस्तै विभागले हरि कुमार श्रेष्ठबाट विगो रकमको ३ गुण बढी जरिवानासमेत माग गरेको छ ।