Logo

एनआरएनए विज्ञ सम्मेलनमा कोरोनाबारे चर्चा, पूर्व अर्थमन्त्री डा खतिवडाले भने-तीनवटै सरकारको समन्वयमा कोभिडविरुद्ध लडाइँ

एनआरएनए विज्ञ सम्मेलनमा कोरोनाबारे चर्चा, पूर्व अर्थमन्त्री डा खतिवडाले भने-तीनवटै सरकारको समन्वयमा कोभिडविरुद्ध लडाइँ



काठमाडौं । पूर्वअर्थमन्त्री एवं प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार डा युवराज खतिवडाले कोभिड–१९ विरुद्धको काम तीनवटै सरकारको समन्वयमा भइरहेको बताएका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) द्वारा आयोजित दोस्रो विश्व ज्ञान सम्मेलनमा शनिबार डा खतिवडाले स्वास्थ्य क्षेत्रमा बढी बजेट विनियोजन भएको र क्वारेन्टिन, आइसोलेसन व्यवस्थापनको काम समन्वय गरेरै भइरहेको बताए ।

यद्यपि पछिल्ला दुई वर्ष यता शिक्षा र स्वास्थ्यमा बजेट विनियोजन बढे पनि पर्याप्त नरहेको उनले बताए। पूर्वअर्थमन्त्री खतिवडाले स्वास्थ्य क्षेत्रमा भौतिक पूर्वाधार निर्माणका लागि अध्ययनको काम भइरहेको बताए ।

नेपाली कांग्रेसका नेता एवं पूर्व उद्योगमन्त्री नवीन्द्रराज जोशीले विदेशमा रहेका नेपालीको ज्ञानलाई स्वदेशमा प्रयोग गर्न सक्नु पर्ने बताए । अहिले अर्थतन्त्रका केही ‘इन्डिकेटर’ राम्रा रहे पनि विपन्न वर्गलाई सरकारले के गर्यो भन्दै उनले प्रश्न गरे । कोभिडसँग लड्न पर्याप्त रकम जम्मा गर्न काँग्रेसले पहिले नै भनेको स्मरण गराउँदै जोशीले भने, “राहत प्याकेजका लागि बारम्बार भन्यौँ तर, सुनुवाइ भएन, यो अवस्थामा सडकमा जान पनि मिलेन ।” अर्थतन्त्र पुनरुत्थानका लागि योजनाबद्ध ढङ्गबाट अघि बढ्नु पर्ने उनले सुझाव दिए ।

एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोले कोभिड–१९ का कारण आर्थिक सङ्कट गहिरिँदै गएको बताए । अर्थतन्त्र बिरामी हुँदा प्रत्येक क्षेत्रलाई छुट्याएर सोही अनुसार उपचार गर्न सरकारले सर्भे गर्नुपर्ने उनले सुझाव दिए । “देशलाई अझै धनी बनाउनु पर्छ भनेर कोभिड–१९ ले देखायो । धनी देशहरू व्यवसाय र रोजगारी जोगाउन जति पनि खर्च गर्नसक्ने सामर्थ्यमा पुगे”, उनले भने, “हाम्रो देशको आर्थिक अवस्था पनि राम्रो भएको भए व्यवसाय र रोजगारी जोगाउन सकिन्थ्यो ।” अहिलेको सङ्कटको बेला ठूला व्यवसायीले नाफा नकमाउँदा पनि खासै समस्या नपर्ने उल्लेख गर्दै उनले साना र मझौला उद्योगलाई जोगाउन सरकारले आधा होइन पूरै दिल खोलेर सहयोग गर्नुपर्ने बताए ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलले गैरआवासीय नेपालीसँग रहेको ज्ञान, सीप र भिजनको समुचित प्रयोग गरेर देश विकासमा लगाउनु पर्ने बताए। समन्वय, सहकार्य गरेर दिगो विकास लक्ष्य प्राप्तिमा लाग्नु पर्ने उल्लेख गर्दै प्रा डा कँडेलले कोभिड–१९ ले प्राथमिकताका क्षेत्र परिवर्तन गरेको बताए । स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार र रोजगारीका क्षेत्रमा खर्च बढाउनुपर्ने आवश्यकता रहेको औँल्याउँदै उनले लकडाउन कारण प्रधानमन्त्री रोजगार कार्यक्रम लगायत अन्य रोजगारीका काम सञ्चालनमा ढिलाइ भएको बताए।

साइप्रसका पूर्वअर्थमन्त्री डा मिचेल सारिसले कोभिड–१९ सङ्कटको समयमा स्वास्थ्यका दृष्टिकोणबाट अगाडि बढेका देशले राम्रो काम गरेको बताए। “अहिलेको अवस्थालाई राजनीतिज्ञको नेतृत्वबाट भन्दा चिकित्सा क्षेत्रबाट एकरुपता र पारदर्शीरूपमा काम गर्न सकेको बताए। जुन नेतृत्वले स्वास्थ्यको दृष्टिबाट अर्थनीति बनाएका छन् । तिनीहरुले व्यापारमा राम्रो गरेको देखिन्छ”, उनले भने ।

एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी, स्कूल अफ इन्भारोमेन्ट, रिसोर्स एण्ड डेभलपमेन्टका प्रा डा शोभाकर ढकालले कोभिड–१९ का कारण दिगो विकास लक्ष्यमा अझ चुनौती थपिएको बताए। १७ वटा गोल मध्ये धेरैजसो लक्ष्य पूरा भएको उनले बताए । उनका अनुसार अनलाइन व्यापार, इ–बैंकिङ क्षेत्रमा अवसर बढ्दै गएको छ ।

अर्थतन्त्रको पुनरुत्थानका लागि तत्कालीन र दीर्घकालीन गरी छुट्टाछुट्टै प्याकेज आवश्यक हुने उनले बताए । कार्यक्रममा पूर्वराजदूत भीम उदास, महिला तथा बालबालिका मन्त्रालयका सचिव यामकुमारी खतिवडा, एकनाथ खतिवडा लगायतले कोभिड–१९ बाट सङ्कटमा परेको अर्थतन्त्रलाई उकास्न सरकारले ठोस कदम अगाडि चाल्नु पर्नेमा जोड दिए। लकडाउनका कारण उद्योग, व्यापार क्षेत्र प्रभावित बनेकामा अब डिजिटल व्यापारमा आशा पलाएको उनीहरूको भनाइ छ । यो सत्रको सहजीकरण अर्थशास्त्री विश्व पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्