काठमाडौं । काठमाडौं कालोपुलमा सञ्चालन भएको मेडलिज ट्रेडर्समा करीब १० लाख रुपैयाँ बराबरका म्याद सकिएका खाद्यबस्तु भेटिएका छन् । महानगरको उपभोक्ता हित संरक्षण समितिको अनुगमनका क्रममा बुधबार यी सामाग्री भेटिएका हुन् । ट्रेडर्सकी सञ्चालिका भगवती सिग्देल भन्दै थिइन् – ‘लकडाउन भयो । सामान हेर्न भ्याइएन । तपाईहरु अर्कोपटक आउँदा, सुधार भएको पाउनु हुनेछ ।’
पसलमा बट्टामा प्याकिङ् गरिएका खानेकुरा, चामल, बिस्कुट, चकलेट, चिउरा, अचारलगायतका सामान थिए । अनुगमन टोलीले सञ्चालकलाई ३ दिनभित्र कृषि बिभागमा हाजिर हुन निर्देशन दिएको छ ।
मार्टमा भएका अधिकांश सामान उपभोग गर्ने अवस्थाका देखिएनन् । कृषि बिभागका प्रमुख एवं अनुगमन टोलीका संयोजक हरिबहादुर भण्डारी भन्छन् – यो समस्या अधिकांश मार्टमा देखिएको छ ।
गुणस्तरीय सामानका लागि मार्टमा जाने उपभोक्ता गुणस्तरमा झन् ठगिएका छन् । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेना भन्छन्- राम्रा भनिएका ठाउँमा समस्या छ । अन्यत्र के होला ?’