Logo

लायन्स क्लवले बनायो ५३ शैयाको आइसोलेसन वार्ड, ७७ शैयासम्म बढाउन सकिने

लायन्स क्लवले बनायो ५३ शैयाको आइसोलेसन वार्ड, ७७ शैयासम्म बढाउन सकिने



काठमाडौं । लायन्स क्लवका सदस्यहरुले काठमाडौंमा ५३ शैयाको आईसोलेसन वार्ड संचालनमा ल्याएका छन् । काठमाडौं उपत्यकामा दिनहुँ कोरोना भाइरस सङ्क्रमित बढेसँगै आइसोलेसन वार्डको आवश्यकता बढ्दै गएपछि यस्तो वार्डको व्यवस्था गरिएको हो ।

आइतबार एक कार्यक्रमको आयोजना गर्दै राष्ट्रिय सहिद तथा शान्ति पार्क, जगडोल सामुदायिक वन भित्र रहेको भवन आइसोलेसन केन्द्रको रुपमा संचालनमा ल्याइएको हो । लाइन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ ए १ ले गोकर्णेश्वर नगरपालिकासँगको सहर्कायमा ५३ शैयाको आइसोलेसन वार्ड निर्माण सम्पन्न गरेसँगै सञ्चालनमा ल्याएको हो ।

आर्थिक अवस्था कमजोर भएका र कोठा भाडामा बसेका अरु प्रति लक्षित गर्दै आइसोलेसन वार्ड सञ्चालनमा ल्याएको क्लवका पूर्व गभर्नर अन्नत प्रसाद भेटुवालले बताए । उक्त आइसोलेसन कक्षलाई आवश्यकता अनुसार ७७ शैयासम्म विस्तार गर्न सकिने भेटुवालले बताए ।

कोरोना कहरका बिचमा पनि मानवीय सेवाको कार्यमा निरन्तर जुटिरहेको लायन्स क्लबले यो भवनमा बेड सहित उपचारमा आवश्यक पर्ने उपकरण सामग्री व्यवस्थापन गरेको छ । बस्ति भन्दा पर जंगलका बीचमा रहेको यो आइसोलेसन प्राकृतिक रुपमा पनि शान्त भएकाले संक्रमितलाई उच्च मनोबल बनाउन सहयोग पुग्ने लाइन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ ए १ का गभर्नर टंक श्रेष्ठ बताउँछन् ।

आइसोलेसनमा बसेका बिरामीहरुलाई दिनको चार पटकसम्मको खानाको व्यवस्थापन गरिने छ । योसँगै लाइन्सले विराटनगरमा पनि आइसोलेसन वार्ड सञ्चालन गर्ने भएको छ । उपत्यकामा कोरोना संक्रमण तीव्र रूपमा फैलिएसंगै आइसोलनको अभाबमा कोरोनाका बिरामीहरु घरमै रहेको बेला यसले उपचारमा थप सहयोग पुग्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्