बिजखबर संबददाता
१३ असोज,काठमाडौं । जापानमा रहेका नेपालीहरुले टोकियोस्थित भारतीय राजदूताबासमा ज्ञापन पत्र बुझाउने भएका छन् । नेपालमा संविधान जारी भएसँगै नेपालतर्फको निकासीमा भएको अवरोध उल्लेख गर्दै राजदूतमार्फत ज्ञापनपत्र बुझाउन लागिएको एनआरएनका उपाध्यक्ष भवन भट्टले बताए ।
विभिन्न पेशा र व्यवसाय गर्दै जापानमा रहेका नेपालीहरुले निकासी बन्द गर्दा नेपालमा पेट्रोलियम संकट गहिरिंदै गएको भन्दै ध्यानाकर्षण गराउन लागेको हुन् । ‘चाँडै नै खाद्यान्न, औषधीलगायतका अत्यावश्यकीय बस्तुको अभाव हुने र यसले स्थिति थप विकराल हुने जोखिमप्रति अहिले नै सचेत हुनु जरुरी छ’ उनले भने ।
ज्ञापनपत्रमा संविधान जारी भएपछि उत्पन्न अवस्था गम्भिर भएको र समस्याको तत्काल सामाधान गरि अन्तरराष्ट्रिय कानुन, क्षेत्रिय तथा द्विपक्षिय सन्धि सम्झौता एवम् दुई देशबीचको सम्बन्धको सम्मान गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिलाई सम्बोधन गरिएको छ । तराइ मधेशका मागहरु संविधान संशोधन मार्फत सम्बोधन गर्न सकिने मार्ग सँधै खुल्ला छ । संविधानसभामा रहेका सदस्यहरुको झण्डै ९० प्रतिशतले पारित गरेको यो संविधानलाई विश्वकै ठूलो प्रजातान्त्रिक मुलुक भएकाले मात्र हैन नेपालका हरेक सुख दुःखको साक्षी र सहयोगीसमेत भएकाले छिमेकी भारतले यसको निसर्त समर्थन गर्ने अपेक्षा गरिएको छ ।
भट्टले वर्तमानमा भइरहेको घटनाप्रति दुःख व्यक्त गर्दै बिश्वको ७० भन्दा बढि राष्ट्रमा रहेका नेपालीहरुलाई सम्बन्धित देशमा रहेका भारतिय दूताबास तथा अन्य नियोगहरुमा १ अक्टुबरका दिन उपस्थित भई ज्ञापनपत्र बुझाउन आह्वान गरेका छन् ।
भोलि बुझाइने ज्ञापनपत्रको बोधार्थ जापानका प्रधानमन्त्री, जापानस्थित संयुक्त राष्ट्रसंघको कार्यालय, सार्कराष्ट्रका सबै दूताबासहरु लगायतमा दिइने जानकारी गराइएको छ ।