Logo

मास्क नलगाएको भन्दै प्रहरीले गर्यो ५०० जरिवाना, १० लाख क्षतिपूर्ति माग्दै शर्माले हाले अदालतमा मुद्दा

मास्क नलगाएको भन्दै प्रहरीले गर्यो ५०० जरिवाना, १० लाख क्षतिपूर्ति माग्दै शर्माले हाले अदालतमा मुद्दा



काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण पूरै विश्व नै प्रभावित बनेको छ । संक्रमणबाट बच्नका लागि मास्क लगाउनु अनि भौतिक दूरी कायम गर्नु अत्यावश्यक मानिन्छ। धेरैतिर मास्क लगाउनुपर्ने नियम अनिवार्य गर्दै कडाइका साथ निगरानी गर्ने गरिएको छ।

पछिल्लो तथ्यांकअनुसार विश्वमै सबैभन्दा बढी प्रभावित अमेरिका बनेको छ भने भारत दोस्रो बढी प्रभावित मुलुक बनेको छ । यसकारण भारतमा पनि मास्क लगाउनुपर्ने नियम अनिवार्य गर्दै कडाइका साथ निगरानी गर्ने गरिएको छ । तर, त्यहाँ मास्क नलगाएको भनेर प्रहरीले एकजनामाथि गरेको कारबाहीपछि ती व्यक्ति भने अदालत पुगेका छन् । भारतको राजधानी दिल्लीकाएकजना व्यक्ति आफ्नो कारमा एक्लै मास्क नलगाइकन कतै जाँदै थिए।

प्रहरीले उनलाई देखेर गाडी रोक्न लगायो। मास्क नलगाएको भन्दै उनलाई पाँच सय रुपैयाँ जरिवाना गरियो। जरिवाना गरिएका व्यक्ति उक्त घटनालाई लिएर अदालत पुगेका छन्। उनको माग आफूलाई तिर्न लगाइएको जरिवाना फिर्ता मात्र होइन उल्टै ‘क्षतिपूर्ति’ वापत १० लाख रुपैयाँ पाउनुपर्ने छ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार जरिवाना तिराइएका व्यक्ति दिल्लीकै सौरभ शर्मा हुन् । उनी पेसाले वकिल हुन् । गत सेप्टेम्बर ९ को उक्त घटनापछि उनले ती मागहरु पूरा गर्न भन्दै अदालतमा मुद्दा दायर गरेका छन् ।

ती वकिलले कारमा आफू एक्लै यात्रा गरिरहेको र कारभित्र मास्क लगाउनु आवश्यक नभएको प्रहरीलाई बताएका थिए । तर प्रहरीले उनको कुरा मानेन र जरिवाना तिरायो । ती वकिलले दिल्ली हाइकोर्टमा मुद्दा दायर गरेका हुन् । मुद्दामा उनले आफूले तिरेको जरिवाना रकम र सरकारी अधिकारीहरुबाट ‘सार्वजनिक रुपमा मानसिक प्रताडना दिएको’ भन्दै क्षतिपूर्तिवापत १० लाख रुपैयाँ माग गरेका छन् ।

कार आफ्नो निजी क्षेत्र भएको र एक्लै यात्रा गरिरहेका बेला मास्क लगाउनु आवश्यक नरहेको भन्दै यसलाई कुनै सार्वजनिक स्थानमा मास्क नलगाएको जस्तो मानिनु नहुने मुद्दामा उनले उल्लेख गरेका छन् । हिन्दुस्तानटाइम्स बाट

प्रतिक्रिया दिनुहोस्
MBL