Logo

तरकारी बजारमा अनुगमनको प्रभाव, प्याजको मूल्य १० रुपैयाँले घट्यो

तरकारी बजारमा अनुगमनको प्रभाव, प्याजको मूल्य १० रुपैयाँले घट्यो



काठमाडौं । भारत सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेसँगै नेपालमा एकाएक बढेको प्याजको मूल्य बिहीबार भने घटेको छ । कालिमाटी तरकारी तथा फलफुल बजार विकास समितिका अनुसार बुधबार प्रतिकिलो १ सय १९ रुपैयाँमा विक्री भईरहेको प्याजको मूल्य बिहीबार घटेर १ सय १० रुपैयाँमा पुगेको छ ।

पछिल्लो ३ दिनदेखि बजारमा प्याजको अभाव महशुस गराउँदै अनावश्यक रुपमा प्याजको मूल्य व्यवसायीले बढाएपछि सरकारी निकायबाट अनुगमनसमेत बाक्लै भएको थियो । अर्थात व्यवसायीले आफुखुसी प्याजको मूल्य बढाई कारोबार गर्दा काठमाडौं महानगरपालिकालगायतका निकायले अनुगमन गरेका थिए ।

अनुगमन बढ्दै बढी मूल्यमा प्याज विक्री वितरण गर्ने केही व्यवसायीहरुलाईसमेत पक्राउ गरिएको छ । यसरी अनुगमनसँगै पक्राउ पनि गरेपछि व्यवसायी आफैले प्याजको मूल्य घटाउन बाध्य भएको उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष माधव प्रसाद तिमिल्सीनाले बताए ।

उनका अनुसार बुधबार मात्रै काठमाडौं महानगरपालिका कुषि विभागका पदाधिकारीहरुको टोलीले अनुगमनका क्रममा बढी मूल्यमा प्याज विक्री गर्ने ४ जना व्यापारीलाई पक्राउ गरेको थियो । यस्तै आजै मात्रै वाणिज्य विभागले पनि विभिन्न स्थानमा प्याजको मूल्य बढाएर बेच्ने पसल सिल गर्नुको साथै ४० भन्दा बढी व्यापारीलाई पक्राउसमेत गरिसकेको जानकारी दिएको छ ।

भारत सरकारले गत सोमबार मात्रै प्याज निकासीमा प्रतिबन्धको निर्णय गरेको थियो । सोही अनुसार नेपालका व्यापारीहरुले प्याजको अभाव देखाई मूल्य २ दिनमै ९८ प्रतिशतले बढाएका थिए । तर विभिन्न क्षेत्रमा प्याजको गोदाममा छापा मार्दे टन्नै मात्रामा प्याज भेटिएपछि सरकारले त्यस्तो ठाउँमा सिल गर्ने गरेको छ । यसरी व्यापारीले ४० देखि ५० रुपैयाँमा खरिद गरेको प्याज १ सय २० रुपैयाँसम्ममा विक्री गर्दा उपभोक्ता ठुलो मारमा परेको उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष तिमिल्सीना बताउँछन् । ‘व्यापारीले कममा बेचेको प्याज बढीमा बेच्नु ठुलो घात हो,’ उनले भने, ‘उनिहरुले पहिल्यै स्टकमा रहेको प्याजलाई प्रतिकिलो ८० रुपैयाँभन्दा बढीमा बेच्नु नै गैरकानुनी रुपमा लिनुपर्छ ।’

यता वाणीज्य विभागले विहीबार बिहानै गरेको अनुगमनमा तिनकुनेको हरितगृह तरकारी बजारबाट ४२ बोरा प्याज जफत गरेको छ । विभागले अनुगमनमा परेका व्यापारीलाई समेत विभागका हाजिर हुन आह्वान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्