Logo

पहिरोले पीडामा रहेको सिन्धुपाल्चोकमा बिहानै दुई पराकम्पपछि जनजीवन त्रसित, जिल्लाका चारै सुरक्षा अंगलाई अलर्ट गराइयो

पहिरोले पीडामा रहेको सिन्धुपाल्चोकमा बिहानै दुई पराकम्पपछि जनजीवन त्रसित, जिल्लाका चारै सुरक्षा अंगलाई अलर्ट गराइयो



काठमाडौं । सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रविन्दु बनाएर ६.० रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ५ बजेर १९ मिनेट जाँदा सिन्धुपाल्चोको राम्चे केन्द्रविन्दु भूकम्प गएको हो । भुकम्पले हालसम्म कुनै ठूलो क्षती भएको छैन । बिहानै गएको भुकम्पमा स्थानीयको भागदौड भने मच्चिएको थियो । बिहानै भुकम्प गएपछि बजार क्षेत्र सहित गाउँ–गाउँमा समेत स्थानीय घर छाडेर बाहिरीएका थिए ।

भागदौडका क्रममा राष्ट्रिय बाणिज्य बैंक जलविरे शाखाका एक कर्मचारी सामान्य घाइते भएका छन् भने जिल्ला कारगार कार्यालयमा रहेका एक कैदी पनि सामान्य घाइते भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । भुकम्प गएपछि कारगारमा रहेका कैदीबन्दीहरुमा भागदौड भएको ढकालले बताए । त्यो बाहेक भुकम्पको केन्द्रबिन्दु रहेको राम्चे आसपासमा केही घरहरु चर्किएको स्थानीयले जानकारी दिएका छन् ।

भुकम्पपछि जिल्लाका चारै सुरक्षा अंगलाई अलर्ट गराइएको प्रजिअ ढकालले जानकारी दिए । नेपाली सेना,सशस्त्र,नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानलाई अर्लटमा राखिएको उनले जानकारी दिए । भुकम्पको केन्द्रबिन्दु रहेको राम्चे आसपासमा नै रहेका जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश सापकोटाले पनि हालसम्म यस क्षेत्रमा कुनै क्षती नभएको जानकारी दिए ।

पहिरोको जोखिम क्षेत्र आसपासमा नै केन्द्र बनाएर भुकम्पको कडा धक्का गएपछि पहिरोको जोखिम फेरी बढेको बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले जानकारी दिए । केही दिन अघि बाह्रविसे नगरपालिका–७ घुम्थाङको भिरखर्कमा आएको पहिरोमा १५ को मृत्यु र १६ बेपत्ता भएका थिए । भुकम्पको केन्द्रबिन्दु भएको राम्चे र घुम्थाङ बिचको दुरी झण्डै ३ किलोमिटर जति मात्रै भएको मेयर शेर्पाले जानकारी दिए ।

सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर भूकम्प गए पनि काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा यसको धक्का महसुस गरिएको थियो । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएपछि मानिसहरु सडकमा निस्किएका थिए । राष्ट्रिय भूकम्प केन्द्रका अनुसार यो २०७२ सालको गोरखा भूकम्पकै पराकम्प हो । सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भएर अर्को परकम्प गएको छ ।

यसैबीच राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राम्चे केन्द्रविन्दु भई बुधबार बिहान ६ बजेर १० मिनेटमा ३.८ रेक्टर स्केलको परकम्प दोहोरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL