Logo

ह्याण्ड स्यानिटाइजरमा स्वास्थ्यलाई गम्भीर असर गर्ने विषाक्त रसायन भेटियो, बिक्रि वितरण रोक्न ५ वटा कम्पनीलाई निर्देशन

ह्याण्ड स्यानिटाइजरमा स्वास्थ्यलाई गम्भीर असर गर्ने विषाक्त रसायन भेटियो, बिक्रि वितरण रोक्न ५ वटा कम्पनीलाई निर्देशन



काठमाडौं । कोरोना भाइरस रोकथामका लागि प्रयोग हुँदै आएको ह्याण्ड स्यानिटाइजरमा मानव स्वास्थ्यमा गम्भीर असर गर्ने मेथानोल नामक विषाक्त रसायन पाइएको छ ।

बजारमा पाइने हेण्ड स्यानिटाइजरको प्रयोगशाला परीक्षण गर्दा ५ वटा कम्पनीको स्यानिटाइजरमा मेथानोल नामक विषाक्त रसायन पाइएको औषधि व्यवस्था विभाग (डीडीए)ले जनाएको छ ।

नेपाल कायाकल्प उद्योग भक्तपुरको इन्टेन्ट ह्याण्ड स्यानिटाइजर, हाइजिन सोप एण्ड केमिकलको इन्टेन्ट ह्याण्ड स्यानिटाइजर ओरिजिनल, आधार केमिकल एण्ड फुट इन्डष्ट्रिको एडभान्स्ड ह्याण्ड स्यानिटाइजर, सर्च केम कम हर्बल प्रोडक्ट्सको इन्टेन्ट ह्याण्ड स्यानिटाइजर रिफ्रेसिङ जेल र सूर्यमूखी हर्बल प्रोडक्ट्सको सूर्यमुखी ह्याण्ड स्यानिटाइजरमा मेथानोल भेटिएको हो ।

बजारमा उपलब्ध स्यानिटाइजरको नमुना संकलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा उक्त विषाक्त रसायन मेथानोल पाइएको डीडीएले एक सूचना प्रकाशन गर्दै जानकारी दिएको छ । यसले मानव स्वास्थ्यमा गम्भीर नकारात्मक असर गर्ने भएकोले उक्त ह्याण्ड स्यानिटाइजर प्रयोग नगर्न पनि डीडीएले आग्रह गरेको छ ।

सूचनामा भनिएको छ, ‘तोकेको मापदण्ड इन्टेन्ट हेन्ड स्यानिटाइजर (अल्कोहल बेस्ड) सम्बन्धी स्तर २०७६ विपरित विषाक्त रसायन मेथानोल समावेश भएको पाइएकोले मानव स्वास्थ्यमा गम्भीर नकारात्मक असर पार्ने हुँदा सर्वसाधारणहरुले प्रयोग नगर्न-नगराउनुहुन र साथै त्यस्ता स्यानिटाइजरहको उत्पादन तथा बिक्री वितरण अबिलम्ब रोक्का राख्न सम्पूर्ण सरोकारवालाहरुलाई सूचित गरिन्छ । ‘यस्तो गम्भीर त्रुटी गर्ने उत्पादकहरुलाई प्रचलित कानूनअनुसार कारबाही गरिने डिडीएका महानिर्देशक नारायण ढकालले बताएका छन् ।

मेथानोल विषाक्तताका कारण वाकवाक लाग्ने, टाउको दुख्ने, दृष्टि धमिलो हुने तथा आँखाको दृष्टि नै गुम्न सक्ने खतरा रहन्छ । यसका साथै मेथानोलले छालामा समेत गम्भीर असर पुर्‍याउने, स्नायु प्रणालीमा असर गर्ने लगायतका समस्या हुन्छ ।

प्रतिक्रिया दिनुहोस्