Logo

एसिड प्रहार गर्नेको सम्पत्ति रोक्का हुने, जघन्य अपराध अन्तर्गत कारबाही गर्न प्रम ओलीले दिए निर्देशन

एसिड प्रहार गर्नेको सम्पत्ति रोक्का हुने, जघन्य अपराध अन्तर्गत कारबाही गर्न प्रम ओलीले दिए निर्देशन



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड प्रहार गर्नेको अब सम्पत्ती ने रोक्का गर्ने कानुन बनाउने निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार कानून, न्याय तथा संसदीय मामिलामन्त्री र पीडितसहित सहभागी कार्यक्रममा उनले त्यस्ता अपराधीको सम्पत्ति रोक्का गरी पीडितको उपचार गर्ने र क्षतिपूर्ति भराउने, भरणपोषण गर्ने तथा तिनलाई छिटो अस्पताल पुर्याएर उपचार गर्न सबैले सघाउनुपर्ने व्यवस्था गरिने पनि जानकारी दिए। उनले यस्ता अपराधीलाई जघन्य अपराधको सजायको व्यवस्था गर्ने बताएका छन् ।

देशभरि एसिड आक्रमणका घटनामा परेकामध्ये १२ पीडित सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले वीर र शिक्षण अस्पतालमा उपचारको प्रबन्ध मिलाइने तथा सरकारबाट पीडितको सम्पूर्ण खर्च बेहोरिने र नियमित प्रयोग गर्नुपर्ने औषधिको खर्चसमेत गरिने घोषणा गरे।

पढ्न चाहनेका लागि निःशुल्क पठनपाठनको प्रबन्ध सरकारले गर्ने बताउँदै उनले उचित तालीम, रोजगारी, व्यवसाय र जीविकाका लागि सरकारले प्रबन्ध मिलाउने घोषणासमेत गरे। प्रधानमन्त्री ओलीले पीडितलाई सहुलियतपूर्ण ऋण दिएर व्यवसाय गर्न प्रोत्साहन गरिने जनाउँदै हरेक वर्ष सेप्टेम्बर १० लाई एसिड आक्रमणविरूद्धको जागरण दिवसका रूपमा मनाउने गरी अघि बढ्न पनि आह्वान गरे। सभ्य समाज निर्माण गर्न एसिड आक्रमणका कुनै घटना नै हुन नदिन तथा आगामी दिनमा यस्तो पीडा कसैले भोग्न नपर्ने स्थिति सिर्जना गर्न सरकार लागिपर्नेछु उनले भने।

प्रतिक्रिया दिनुहोस्
MBL