बिजखबर संवाददाता
९ असोज, काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले पछिल्लो समय भारतले खुला व्यापारको नीति विपरित गएर नाकाबन्दी लगाउने जस्ता घृणित काम गरेको भन्दै यसमा पुर्नविचार गर्न आग्रह गरेका छन् । ‘खुला व्यापारको जमानामा भारतले असुरक्षाको कारण देखाउँदै सीमा नाकाबाट सामान बोकेका गाडी पठाउन रोक लगाएको छ,’ नाडा अटोमोवाईल्स एशोसियशनको ३८ औं तथा ३९ औं साधारण सभामा बोल्दै उनले भने, ‘कसैले पनि अन्तरराष्ट्रिय व्यापार र आन्तरिक राजनीतिलाई एकै ठाउँमा राखेर हेर्न मिल्दैन ।’
अर्थमन्त्री महतले जनतालाई डर, त्रास र धम्की दिएर आन्दोलन नगर्न आन्लोलनरत मधेसी दलहरुलाई आग्रह गरेका छन् । ‘अहिले तराइमा मधेसी दलले उद्योगी व्यवसायी तथा सर्वसाधारण जनतालाई धाकधम्की दिएर बन्द हड्ताल गर्दै आएका छन्,’ उनले भने, ‘मधेसी दलले जनताको नाममा आन्दोलन गरेर जनतालाई नै गरिव बनाउने काम गरिरहेका छन् । नेपालमा दक्षिण एशियाकै राम्रो संविधान बनेको बताउँदै सवै आन्दोलनरत दललाई सहमतिमा आउने आग्रह गरे ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले मधेसका आन्दोलनकारीले अनावश्यक बन्द हड्तालले गर्दा व्यवसायीहरु समस्यामा परेको बताए । ‘मधेसी दलहरु किन र कस्का लागि आन्दोलन गर्दैछन्,’ उनले भने, ‘उनीहरुको आन्दोलने गर्दा सोझा जनाता तथा उद्योगी व्यवसायी मर्कामा परेका छन् ।’
कसैले पनि आन्दोलनको नाममा अर्काको अधिकार हनन् गर्न नपाउने भन्दै उद्योगी व्यवसायीलाई काम गर्ने वातावरण बनाइदिन आग्रह गरे । यस्तै, सरकारले पनि व्यवसायीलाई सुरक्षा नदिएको भन्दै गुनासो पोखेका थिए । ‘जनताको जीउ धनको सरक्षा गर्नु राज्यको दायित्व हो,’ उनले भने, ‘तर, देशमा डेढ महिना लामो बन्द हुँदा पनि त्यसको निकास निकाल्न सरकारले कुनै चासो देखाएको छैन ।’
हाल देशले राजनीतिक रुपमा सफलता हात पारेको बताउँदै अव आर्थिक रुपमा सफल बनाउन सवै एकजुट भएर लाग्नुपर्ने बताए । ‘देशमा संविधान आउनु भनेको राजनीतिक रुपमा सफल हुनु हो,’ उनले भने, ‘अव आर्थिक रुपमा केन्द्रिक नभई देश अघि बढ्न सक्दैन ।’
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले अहिलेको अवस्थामा राज्यले व्यवसायीलाई सहुलियत दिन आग्रह गरे । ‘व्यवसायीहरु झण्डै ४५ दिनदेखि बन्द हड्ताल खेप्न वाध्य छन्,’ उनले भने, ‘तसर्थ यस्तो अवस्थामा राज्यले विभिन्न खालका करमा सहुलियत दिनु पर्छ ।’