काठमाडौं । काठमाडौं उपत्याकाका मेयरहरुको संयुक्र फोरम उपत्यका नगरपालिका फोरमले उपत्यकामा केही खुकुलो गरी पुनः एक हप्ता थप गरेको निषेधाज्ञा आदेशप्रति असन्तुष्टि व्यक्त गरेको छ ।
तीनवटै जिल्ला प्रशासनले भदौ २४ गते राति १२ बजेसम्म लागू हुने गरी जारी गरेको निषेधाज्ञाप्रति असन्तुष्टि व्यक्त गर्दै उपत्यका नगरपालिका फोरमका उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र फोरमका सचिव एवं मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठको संयुक्त हस्ताक्षरमा विज्ञप्ति जारी भएको हो ।
प्रशासनले जारी गरेको विज्ञप्तिमा उपत्यकाभित्र विकास निर्माणसँग सम्बन्धित पसल(व्यवसाय साथै सोको ढुवानीका लागि प्रयोग गर्ने गाडी दिउँसो २ बजेदेखि बेलुका ९ बजेसम्म सञ्चालन गर्न सकिने तर, नेपाल सरकारले तोकेको स्वास्थ्यसम्बन्धी मापदण्ड अनिवार्य पालना गर्नुपर्ने उल्लेख छ । नगरपालिका फोरमले सबैभन्दा बढी असन्तुष्टि यही बुँदामा रहेको विज्ञप्तिमार्फत जनाएको छ ।
‘यही भदौ १८ गतेदेखि लागू हुनेगरी थपिएको निषेधाज्ञामा दिउँसो दुई बजेदेखि साँझ ९ बजेसम्म विकास निर्माणका पसल–व्यवसाय सञ्चालन गर्न सकिने बुँदामा गम्भीर ध्यानाकर्षण भएको छ,’ फोरमद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
‘यसले गर्दा निषेधाज्ञाको खासै अर्थ र उपादेयता नरहने तथ्यलाई ध्यानमा राखी अतिआवश्यक बस्तु र सेवालाई बिहान ११ बजेसम्म मात्र खोल्न सकिनेसम्मलाई कायम राख्दै अन्य समयमा पसल(व्यवसाय सञ्चालनमा रोक लगाउने गरी अविलम्ब निषेधाज्ञा आदेश सुधार गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गरिन्छ’ विज्ञप्तिमा भनिएको छ ।
मध्यपुर थिमिका मेयर श्रेष्ठले अहिले उपत्यका नगरपालिका फोरमका अध्यक्ष एवं काठमाण्डौ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण देखिएपछि होम आइसोलेशनमा रहेको र उनीसँग भर्चुअलसम्बाद गरी विज्ञप्ति जारी गरेको जानकारी दिए ।
मेयर श्रेष्ठले काठमाडौं उपत्यकामा कोभिड–१९ को संक्रमण तथा मृत्युदर समेत तीव्र रुपमा बढिरहेको सन्दर्भमा उपत्यकालाई भयावह स्थितिबाट जोगाउन कडा रुपमा निषेधाज्ञा आवश्यक रहेको उपत्यका नगरपालिका फोरम, काठमाडौंको ठहर रहेको पनि जानकारी दिए ।
‘वर्तमान विषम परिस्थितिलाई ध्यानमा राखी उपत्यकाका पालिकाबाट प्रवाह गरिँदै आएका अत्यावश्यक बाहेकका सेवा(प्रवाह भदौ २४ सम्म बन्द रहने पनि यसै विज्ञप्ति मार्फत जानकारी गराउँछौँ,’ विज्ञप्तिमा उल्लेख छ । स्मरण रहोस उपत्यकाका मेयरहरुको फोरमले भने काठमाडौंमा निषेधाज्ञाभन्दा पनि कर्फयु नै लगाउन तीनै जिल्लाका सिडिओहरुलाई सुझाव दिएका थिए ।