Logo

अर्थमन्त्री देश दौडाहामा, विकासका निर्माणका काममा सरकार बजेट थप्न तयार

अर्थमन्त्री देश दौडाहामा, विकासका निर्माणका काममा सरकार बजेट थप्न तयार


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

७ असोज, काठमाडौं । अर्थमन्त्री डा. रामशरण महत हुम्ला, डोल्पालगायतका जिल्लामा विकास निर्माणका कामको अध्ययन भ्रमणमा गएका छन् । भ्रमणका क्रममा अर्थमन्त्री महतले नेपाली सेनाले निर्माण गरिरहेका सडकको अवलोकन गरी निर्माण कार्यलाई लक्ष्यित समयमा पूरा गर्न निर्देशन दिएका छन् ।

कालीगण्डकी र कर्णाली कोरिडरको प्रत्यक्ष अवलोकन गरी उनले निर्माण कार्यमा जुटेका सेनाको टोलीलाई सो निर्देशन दिएका हुन् । ‘विकास निर्माणका काममा बजेटको कुनै समस्या हुनेछैन, काम छिटो पूरा गर्नुहोस,’ उनले भने, ‘छुट्याइएको समयभन्दा अगावै पनि कतिपय काम पूरा हुने स्थिति छ र बजेटको अभाव छ भने सरकार तत्काल थप बजेट उपलब्ध गराउन तयार छ ।’ उनले जाजरकोट, डोल्पा दुनै सडकको मनकाबगरमा पुगेर अवलोकन गरेपछि सेनाको निर्माण कार्यमा जुटेको टोलीले सन्तोषजनक ढंगले काम गरेको प्रतिक्रिया दिएका थिए ।

विकास निर्माणका परियोजनाहरुको प्रत्यक्ष अवलोकन गर्न २ दिने भ्रमणमा निस्किएका अर्थमन्त्री डा महतले कालीगण्डकी कोरिडोरका साथै कर्णाली कोरिडोर अन्तर्गतका कालीकोटको रेंगिल र डोल्पा नजिक पर्ने मनकाबगर खण्डमा भैरहेको निर्माण कार्यको पनि अवलोकन गरेका थिए । संविधान निर्माणपछि मुलुकले आर्थिक एजेण्डालाई प्राथमिकताका साथ अगाडि बढाउने उद्घोष गर्दै उनले विकास निर्माणमा दबाब दिन परियोजनास्थलको प्रत्यक्ष अवलोकनमा निस्कएका हुन् । साथै, आगामी दिनमा अन्य परियोजनाहरुको अवलोकनका लागि पनि निस्कने बताएका छन् ।

https://139.180.217.87/wp-content/uploads/2015/09/ramsharan-jumla.jpg
https://139.180.217.87/wp-content/uploads/2015/09/ramsharan-jumla.jpg

 

डोल्पाको दुनै जोड्ने करिब १ सय १८ किमी लामो यो बाटो अव १८ किमी मात्र बन्न बाँकी रहेको छ । तर कडा चट्टान भएकोेले दुई बर्षभित्रमा पूरा गरिने जानकारी दिइएको थियो । नेपालभर अझै पनि डोल्पा र हुम्ला मात्र बाँकी रहेको छ ।
तत्कालिन प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको पालामा तत्कालिन योजना आयोगका सहअध्यक्ष समेत रहेका डा महतले नेपाली सेनालाई विकास निर्माणका काममा सहभागी गराउने प्रस्ताव गरेपछि सेनाले सडक निर्माणमा हात हालेको थियो । त्यसबेला धनकुटाको हिले भोजपुर र कटारी ओखलढुंगा सडक सेनालाई दिएपनि प्रभावकारी काम भएको भन्दै अहिले अन्य सडकहरुको निर्माण कार्यमा पनि सेनालाई जिम्मा दिइएको छ ।

अर्थमन्त्री डा महतले कालीकोटको म्यानमामा आयोजित अर्को एक कार्यक्रममा बोल्दै जनताको चाहना बमोजिम संविधान बनेकोले अव आर्थिक उन्नतिमा सम्पूर्ण शक्ति लगाएर काम गर्न आग्रह गरे । ‘पूर्वाधार विकासको पूर्वशर्त हो र सडक पहुँच नभएका २ जिल्लामा पनि छिटै सडक बन्दैछ,’ उनले भने, ‘सडक बनेपछि अन्य ठाउँबाट ल्याएर खाने होइन, आफ्ना सामान र सेवाहरुको बिक्री गरेर आम्दानी बढाउन सकेमात्र कर्णाली क्षेत्रले समृद्धिमा फड्को मार्न सक्छ ।’ विकास निर्माणका कामहरुमा जनताको गुनासो सुनेपछि उनले काम गरेर देखाउन चुनौती दिए ।

अर्थमन्त्री डा महतले कालीकोटको म्यानमाका अतिरिक्त हुम्लाको सिमकोट, डोल्पाको दुनैमा आयोजित अन्य कार्यक्रमहरुमा पनि सहभागिता जनाएका थिए । त्यसैगरी बाग्लुङ, सुर्खेत र सुर्खेतकै बाबियाचौरमा पार्टीले आयोजना गरेका कार्यक्रमहरुमा पनि सहभागिता भएका थिए । संविधान जारीको खुसीयाली सभा भएकोले पनि अर्थमन्त्री डा महत पुगेका स्थानहरुमा आफ्नो पार्टीका मात्र होइन विभिन्न पार्टीका कार्यकर्ताहरु र स्थानीयबासीहरुले भब्य स्वागत गरेका थिए ।

जिल्ला भ्रमणको क्रममा अर्थमन्त्रीसँगै कांग्रेसका हुम्लाका सांसद तथा केन्द्रीय सदस्य जीवनबहादुर शाही, बाग्लुङका कांग्रेस जिल्ला सभापति तथा सांसद प्रकाश पौडेल, सुर्खेतका सांसद तथा कांग्रेस जिल्ला सभापति तप्तबहादुर विष्ट, सांसद ह्रदयराम थानी र योजना आयोगका सदस्य डा स्वार्णिम वाग्ले समेतको सहभागी रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्