Logo

कतारले तोक्यो श्रमिकको न्यूनतम पारिश्रमिक, काम परिवर्तन गर्न रिलिज पेपर चाहिने प्रावधान पनि हट्यो

कतारले तोक्यो श्रमिकको न्यूनतम पारिश्रमिक, काम परिवर्तन गर्न रिलिज पेपर चाहिने प्रावधान पनि हट्यो



काठमाडौं। नेपालीको प्रमुख गन्तव्य कतारले अदक्ष श्रमिकको न्यूनतम तलब तोकेको छ । आइतबार कतारको श्रम तथा सामाजिक विकास मन्त्रालयले श्रमिकको न्यूनतम ज्याला कम्तिमा एक हजार कतारी रियाल (३० हजार रुपैयाँ) तोकेको छ ।

मन्त्रालयले न्यूनतम पारिश्रमिकसँगै ५ सय कतारी रियाल बस्नका लागि र ३ सय रियाल खानका लागि तोकेको छ । यो नियम यसअघि करार सम्झौतामा उल्लेख गरे पनि दिने गरिएको थिएन । अब कतार जाने श्रमिकले खान, बस्न र मासिक तलबसहित न्यूनतम १८ सय कतारी रियाल पाउनेछन् ।

कतारले रोजगार परिवर्तन गर्नका लागि रोजगारदाताको अनुमति (रिलिज पेपर) चाहिने बाध्यकारी नियमलाई पनि हटाएको छ । प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले आइतबार २०२० को ‘कानुन नम्बर १७’ जारी गर्दै निजी क्षेत्रमा कार्यरत सबै श्रमिकको न्यूनतम तलब निर्धारण गरेको हो । यो घरेलु श्रमिकको हकमा पनि लागू हुनेछ ।

यो तलब कार्यान्वयनमा आएपछि कतार सबैभन्दा बढी न्यूनतम तलब दिने रोजगारदाता मुलुक बन्नेछ । नेपाल सरकारले २०१३ देखि अदक्ष श्रमिकका लागि न्यूनतम तलब ९ सय रियाल र खानाबापत तीन सय रियाल गरी १२ सय रियाल निर्धारण गरेको थियो ।

रोजगारदाता कम्पनीले नेपालले एकतर्फी रुपमा तलब निर्धारण गरेको भन्दै त्यसलाई पूर्ण रुपमा कार्यान्वयन गरेको थिएन । कतारले पनि रोजगारदाता र श्रमिकबीच हुने सम्झौतालाई मात्रै आफूले कार्यान्वयन गर्न बाध्यकारी रहेको बताउँदै आएको थियो । कतारले दुई वर्ष अघिदेखि भने ७५० रियालभन्दा तलको करारपत्रलाई प्रमाणीकरण गर्न छोडेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL