Logo

काठमाडौं उपत्यकामा भदौ १५ सम्म निषेधाज्ञा बढाउन सुझाव, २८ हजारको कन्ट्रयाक्ट ट्रेसिङ र परीक्षण गरिने

काठमाडौं उपत्यकामा भदौ १५ सम्म निषेधाज्ञा बढाउन सुझाव, २८ हजारको कन्ट्रयाक्ट ट्रेसिङ र परीक्षण गरिने



काठमाडौँ । उपत्यका नगरपालिका फोरमले उपत्यकाका सबै पालिकामा कन्ट्राक्ट ट्रेसिङ र टेस्टिङको दायरा फराकिलो बनाउने निर्णय गरेको छ ।सोमबार बसेको उपत्यका नगरपालिका फोरमको बैठकले यस्तो निर्णय गरेको हो । उपत्यकामा समूदायस्तरमै कोभिड—१९ को संक्रमण फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै रोकथाम र नियन्त्रणका लागि तत्कालै स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा कन्ट्राक्ट ट्रेसिङ र टेस्टिङको दायरा फराकिलो बनाउने निर्णय गरेको उपत्यका नगरपालिका फोरमका अध्यक्ष काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए ।

‘स्वास्थ्य मन्त्रालयको टीमसहित भोलिबाटै उपत्यकाका १८ वटै पालिकामा तालिका बनाएरै कन्ट्राक्ट ट्रेसिङ र टेस्टिङको कार्य अघि बढाऔँछौँ,’ बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘हामी उपत्यकाका सबै पालिकामा कन्ट्राक्ट ट्रेसिङको दायरामा परेका नागरिकको टेस्टिङ गर्छौ । यसमा स्वास्थ्य मन्त्रालयका अनुभवी टीम पनि हाम्रो साथमा रहने छ ।’

शाक्यले अहिलेसम्म उपत्यकाका १८ वटै पालिकाको तथ्याङ्क अनुसार २७ सय ४६ जना संक्रमित भेटिएको भन्दै त्यसका आधारमा करीब २८ हजार पाँच सयको कन्ट्राक्ट ट्रेसिङ गर्नु पर्ने हुनसक्ने बताए । उनले ढिलोमा १५ गतेसम्ममा ती सबैको परीक्षण सक्ने गरी तालिका बनाएर अघि बढ्ने पनि जानकारी दिए । ‘पीसीआर औषधी होइन त्यसैलै रहरले परीक्षण गर्नेहरुहरुलाई होइन कन्ट्राक्ट ट्रेसिङको दायरामा परेका लुकेर बसेका रहेछन् भने पनि ती सबैको खोजिखोजी हामी परीक्षण गर्र्छौ । सञ्चारमाध्ययमले पनि सहयोग गर्नुहोला ।’

त्यसैगरी बैठकले उपत्यकाका स्थानीय तहबाट प्रवाहित हुँदै आएका सेवाहरु मध्ये अत्याश्येकबाहेकका सेवालाई भदौ ९ गतेसम्म कायम गरिएकोमा पुनः भदौ १५ गतेसम्मका लागि स्थगन गर्ने निर्णय गरेको छ ।

‘उपत्यकाका स्थानीय तहबाट प्रवाहित हुँदै आएका सेवाहरु मध्ये अत्याबश्यकबाहेकका सेवालाई भदौ ९ गतेसम्म कायम गरिएकोमा पुनः भदौ १५ गतेसम्मका लागि स्थगन गर्ने निर्णय गरेका छौँ,’ उपत्यका नगरपालिका फोरमका सचिव एवं मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले भने, ‘उपत्यकाका तीन वटै जिल्ला प्रशासनले जारी गरेको निषेधाज्ञाको अवधी पनि भदौ १५ गतेसम्म बढाउन हामीले आग्रह गरेका छौँ ।’

उनले निषेधाज्ञाको अवधी भित्रै कन्ट्राक्ट ट्रेसिङको काम सम्पन्न गर्ने गरी अघि बढेको बताए । ‘स्वास्थ्य मन्त्रालयले १८ वटा पालिकालाई भोलिबाटै १८ जना फोकल पर्सन तोक्ने प्रतिवद्धता व्यक्त गरेको छ,’ उनले भने, ‘हामी उहाँहरुसँग सहकार्य गरेर भोलिबाटै फिल्डमा जान्छौँ ।’
बैठकमा उपस्थित मेयरहरुले एकीकृत आइसोलेशन निर्माण गर्ने, डेलिकेटेट एम्बुलेन्सको व्यवस्था हुनुपर्ने, स्वास्थ्य मन्त्रालयले छिटो सूचना दिनुपर्ने जस्ता माग राखेका थिए ।

बैठकमा सहभागी स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालका जनस्वास्थ्य सल्लाहकार डा. खेम कार्कीले कोरोना विरुद्धको युद्धमा एक जुट नहुने हो भने कोरोनाले जित्ने बताए। ‘काठमाडौँ भित्र कम्तीमा १५ हजार संक्रमित रहेको हुनसक्ने अनुमान छ,’ उनले भने, ‘हामीले त्यो चेन तोड्न सकेनौँ भने अवस्था भयावह हुनसक्छ । त्यसैले २४ सै घण्टा कोरोना नियन्त्रणमा लाग्नुपर्छ ।’ उनले मन्त्रालय प्राविधिक सहयोग गर्न तयार रहेको भन्दै सबै पालिकालाई संक्रमित व्यक्तिलाई समूदायबाट हटाएर आइसोलेट गर्नुपर्नेमा जोड दिए ।

स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले नेपालले महामारी पहिलो पटक भोगेको भन्दै कन्ट्याक्ट ट्रेसिङ गर्ने, परीक्षण गर्ने आइसोलेट गर्ने उपचार गर्ने विधिलाई प्राथमिकता दिनुपर्छ भने । ‘ट्रेस टेस्ट आइसोलेट गर्न तपाईँहरु लाग्नुहोस् हामी समयोग गर्न तयार छौँ,’ उनले भने, ‘तपाईँहरुले नेतृत्व लिनुपर्छ । मन्त्रालय, विभाग, जिल्ला सहयोग गर्न तयार छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL