Logo

कार्यदलले तयार गर्यो महासंघको निर्वाचन मोडालिटीको प्रतिवेदन, दशैं अघि काठमाडौंमै प्रत्यक्ष निर्वाचन गनुपर्ने अघिकांश सदस्यको माग

कार्यदलले तयार गर्यो महासंघको निर्वाचन मोडालिटीको प्रतिवेदन, दशैं अघि काठमाडौंमै प्रत्यक्ष निर्वाचन गनुपर्ने अघिकांश सदस्यको माग



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन दशैं अघि नै गर्न सकिने गरी कार्यदलले प्रतिवेदन तयार गरेको छ । लामो समयदेखि अन्यौलमा रहेको उक्त निर्वाचनको मोडालिटी तय गर्न गत साउन २१ गते महासंघले ६ सदस्यीय कार्यदल गठन गरेको थियो ।

सो कार्यदलले विज्ञसँग लिएको सुझावको आधारमा उनीहरुले असोजको तेस्रो हप्ता महासंघको ५४ औं वार्षिक साधारणसभा तथा निर्वाचन गर्न सकिने उक्त प्रविदेनमा उल्लेख छ । कार्यदलले महासंघका सदस्यहरुसँग सुझाव लिएर स्वास्थ्यविद, कानुनविद, सरकारले गठन गरेको सीसीएमसीको सदस्यहरुसँग समेत छलफल गरी राय लिएको थियो । विज्ञहरुको रायअनुसार असोजको दोस्रो वा तेस्रो हप्ता कोभिड १९ को असर कम हुँदै जाने र उक्त समयमा निर्वाचन गर्नु उपयुक्त हुने सुझाव दिएको उक्त प्रतिवेदनमा उल्लेख छ ।

महासंघले मोडालिटी तय गर्न गठन गरेको कार्यदलले साउन ३२ गतेसम्म सुझाव लिनुका साथै विज्ञहरुसँग रायसल्लाह लिएको थियो । जसमा १ सयभन्दा बढी सुझाव प्राप्त भएको थियो । उक्त सुझावमध्ये ६५ प्रतिशतभन्दा बढी सुझाव जिल्ला नगरका उद्योगी व्यवसायीले दिएका उक्त कार्यदलका एक सदस्यले जानकारी दिए । उक्त कार्यदलले महासंघका सम्पूर्ण सदस्यहरुसँग निर्वाचन सम्बन्धमा राय सुझाव माग गरेको थियो । तर पूर्व अध्यक्षहरुमा चण्डीराज ढकालले मात्र सुझाव दिएको उक्त कार्यदलले जानकारी दिएको छ ।

साउन ३२ गतेसम्म लिइएको राय सुझावमा मिश्रित प्रतिक्रिया आएको ती सदस्यले जानकारी दिए । जस अनुसार ३ वटा मोडालिटी अपनाएर महासंघको आसन्न निर्वाचन गर्न सदस्यहरुले सुझाव दिएको छ ।

सुझाव दिएकामध्ये धेरैजसोले काठमाडौंमै प्रत्यक्ष भोटिङ प्राणालीबाट महासंघको निर्वाचन गराउनु पर्ने माग राखेका छन् । काठमाडौंमै प्रत्यक्ष निर्वाचन गराउँदा जिल्ला÷नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ, एसोसिएटलाई फराकिलो फरक–फरक ठाउँमा निर्वाचन गराउनु पर्ने कार्यदलको सुझाव छ ।

यसैगरी केही सुझावमा महासंघको निर्वाचन प्रत्यक्ष गराउनु पर्ने तर कोरानाका कारण जिल्ला नगरको लागि प्रदेश स्तरमा पनि मत हाल्ने अधिकार दिनुपर्ने माग राखेका छन् । तेस्रो विकल्पका रुपमा अनलाईन प्रणालीबाट पनि निर्वाचन गर्न सकिने सुझाव दिएका छन् । तर अनलाईनबाटै निर्वाचन गर्नुपर्ने पक्षमा एकदमै न्यून सदस्यहरुबाट मात्रै सुझाव प्राप्त भएको ती सदस्यले जानकारी दिए ।

तर कोरोना प्रभाव बढ्दै गएमा दशैं तिहार पछि मात्र निर्वाचन गर्न सकिने पनि विज्ञहरुले सुझाव दिएको उक्त प्रतिवेदनमा उल्लेख छ । कार्यदलले विज्ञसँगको सल्लाहसुझाव तथा आफ्ना सदस्यहरुबाट प्राप्त सुझावको आधारमा प्रतिवेदन तयार गरेपनि निषेधाज्ञाका कारण बुझाउन सकेको छैन । ‘हामीले शुक्रबार महासंघमा प्रतिवेदन बुझाउने भनेको थियौं तर सोही दिनदेखि सरकारले निषेधाज्ञा जारी गर्यो,’ ती सदस्यले भन्यो, ‘हामीले महासंघका भौतिक रुपमै उपस्थित भएर भदौं १० गतेपछि प्रतिवेदन बुझाउने तयारी गरेका छौं यदि सम्भव भएन भने अनलाईनबाट पनि बुझाउन सक्छौं ।

महासंघले आसन्न निर्वाचनका दुई जना वरिष्ठ उपाध्यक्षका उम्मेदवारको तर्फबाट ३÷३ जना सदस्य सम्मिलित कार्यदल गठन गरेको थियो । जसमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालको तर्फबाट डीवी बस्नेत, विनोद ढकाल र भरत आचार्य थिए भने वरिष्ठ उपाध्यक्षकै अर्का उम्मेदवार किशोर प्रधानको तर्फबाट अरुणराज सुमार्गी, सुनिलगोपाल श्रेष्ठ र रञ्जितराज आचार्य थिए ।

महासंघको आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवार द्वय ढकाल र प्रधानले पदाधिकारीको टीम नै घोषणा गरेर चुनावी अभियानमा लागेका छन् । जसअनुरुप ढकाल प्यानलबाट उपाध्यक्षहरुमा जिल्लानगरमा गुणधिनी तिवारी, वस्तुगतमा उमेशलाल श्रेष्ठ र एशोसिएट्समा रामचन्द्र संघाईले उम्मेदवारी घोषणा गरेका छन् भने प्रधान प्यानलबाट उपाध्यक्षहरुमा जिल्ला नगरमा दिनेश श्रेष्ठ, वस्तुगतमा अञ्जन श्रेष्ठ र बस्तुगतमा शौरभ ज्योतिले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL