Logo

संक्रमण जोखिम क्षेत्रमा निसंक्रमण गर्दै काठमाडौं महानगरपालिका

संक्रमण जोखिम क्षेत्रमा निसंक्रमण गर्दै काठमाडौं महानगरपालिका



काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण र रोकथामका लागि निसंक्रामक औषधि छर्कने (डिस–इन्फेक्ट) कार्यलाई निरन्तरता दिदैँ आएको छ । कोभिड–१९ (कोरोना भाइरस)को संक्रमण फैलिन नदिन संक्रमण देखिएका र जोखिमयुक्त क्षेत्रसँगै सार्वजनिक स्थानहरुमा निसंक्रमण गर्ने कार्यलाई निरन्तरता दिएको काठमाडौँ महानगरपालिकाले जानकारी दिएको छ ।

संक्रमण शुरु भएदेखि नै महानगरपालिकाले टेकु, वीर अस्पताल, कालीमाटी फलफुल बजारलगायतका स्थानलाई निसंक्रमण बनाउन थालेको थियो । यसलाई निरन्तरता दिँदै अहिले संक्रमण देखिएका ठाउँ, अस्पताल क्षेत्र र सार्वजनिक क्षेत्रलाई निसंक्रमण गरिरहेको हो । नगर प्रहरी महाशाखा प्रमुख धनपति सापकोटा भन्छन् — हामीले दिनको १४ वटासम्म सवारी र उपकरण परिचालन गरेका छौं । अहिले दैनिक १० वटासम्म सवारी र उपकरण परिचालन भइरहेका छन् ।

कालीमाटी र बल्खुजस्ता तरकारी बजार, महानगरीय ट्राफिक प्रहरी महाशाखालगायत संक्रमण देखिएका ठाउँ, संक्रमित बिरामी लैजाने अस्पताल क्षेत्र, बिरामी भेटिएका ठाउँ र निषेधाज्ञा जारी हुनु अघि भीड भएका ठाउँलाई प्राथमिकतामा राख्ने गरिएको छ, महाशाखा प्रमुख सापकोटाको भनाइ छ ।

एकसरो सबै वडामा पुगिसकेका छौं । वडाबाट माग भएका ठाउँमा पठाउने गरेका छौं । सापकोटा भन्छन् — निसंक्रमण गर्ने प्रचलित मापदण्डबमोजिमको रसायन प्रयोग गरेर काम गरिरहेका छौं । जनस्वास्थ्य सुरक्षाका लागि यो जरुरी छ । यसलाई हामी भाइरसको संक्रमण निस्तेज नहुञ्जेल जारी राख्छौं ।

प्रतिक्रिया दिनुहोस्
MBL