Logo

सडक विभागले गर्यो गत आवमा डेढ सय पुल मर्मत, आगामी आवमा दुई हजार मिटर पुलको मर्मत गर्ने लक्ष्य

सडक विभागले गर्यो गत आवमा डेढ सय पुल मर्मत, आगामी आवमा दुई हजार मिटर पुलको मर्मत गर्ने लक्ष्य



काठमाडौं । सडक विभागले गत आर्थिक वर्षमा देशभरका विभिन्न जिल्लाका सडकमा गरी झण्डै डेढ सय पुल मर्मत गरेको छ । नेपाल सरकारको आफ्नै लगानी र कतिपय स्थानमा दातृ निकायको सहयोगमा पुराना पुलको मर्मत भएको हो ।

पुराना र जोखिमयुक्त पुल भएका स्थानमा नयाँ पुल राखेर पुरानो हटाउँदै जाने नीति रहेको सडक विभाग, पुल महाशाखा प्रमुख दीपक भट्टराईले बताए । भूकम्पका कारण क्षतिग्रस्त पुलको समेत मर्मतको काम भइरहेको छ ।

विगतमा निर्माण भएका कतिपय पुल एक लेन हुने गरेकामा अहिले दुई वा चार लेनको पुल बनिरहेका छन् । उनले भने, ‘पुराना र साँघुरा भएका स्थानमा त्यसको मर्मत र नयाँ निर्माण दुवै भइरहेको छ ।’

विभागले दुई वर्षयता झण्डै डेढ सय पुल मर्मत गरिरहेको छ । विश्व बैंकले अध्ययन गरिरहेको पतलैया–ढल्केबर सडकमा पुल पुराना र साँघुरो रहेको उपमहानिर्देशक भट्टराईले जानकारी दिए । त्यहाँका झण्डै ७० पुल चार लेनमा निर्माण गरिने योजना बनाइएको छ ।

कतिपय स्थानमा विभाग आफैँले पनि मर्मतका लागि योजना बनाइरहेको छ । सिद्धार्थ राजमार्गमा राम्दी पुललाई मर्मत गर्ने कार्यक्रम रहेको छ । मुग्लिनमा नयाँ पुल बनिसकेर प्रयोगमा आएको छ भने त्यस छेउमा पुरानो पुल रहेको छ । उनले भने, ‘पुरानो पुल पनि मर्मत गर्न यस वर्षको कार्यक्रममा उल्लेख छ ।’

देशभरका सडक योजनामा जहाँजहाँ ठूला मर्मत गर्नुपर्छ त्यहाँ सडक विभाग, पुल महाशाखा आफैँले गरिरहेको छ । साना मर्मतका लागि पुल महाशाखाअन्तर्गतका चार कार्यालयलाई बजेट छुट्याइएको छ । आगामी आवमा दुई हजार मिटर पुलको मर्मत गर्ने लक्ष्य लिइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
MBL