बिजखबर संबाददाता
३ असोज, काठमाडौं । नयाँ संविधानको घोषणा भएसँगै उद्योगी व्यवसायीहरुले नयाँ संविधानको भव्य स्वागत गर्ने तयारीमा लागेका छन् । संविधान घोषणा गर्ने्वित्तिकै उद्योगी व्यवसायीले दिपावली गर्ने कार्यक्रम गर्न लागेका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्शलगायतका निजी क्षेत्रका प्रतिनिधिमुलक संस्थाहरुले देशका विभिन्न ठाउँमा दिपावली गर्दैछन् । नयाँ संविधानको खुसीयालीमा देशभर दिपावली गर्ने कार्यक्रम रहेको एफएनसीसीआईका अध्यक्ष पशुपति मुरारकाले बताए ।
‘संविधानको स्वागत हर्सोल्लासका साथ गर्ने तयारीमा छौं’ उनले भने ।
तर तराईका केही जिल्लहरुमा भने यो असम्भव रहेको उनले जानकारी दिए । ‘तराइ बन्दले व्यवसायीहरु पीडामा रहेकोले दिपावली गर्न मुस्किल छ’ उनले भने । साथै संविधानले उद्योग तथा व्यवसाय स्वतन्त्र रुपमा सञ्चालन गर्न पाउने वातावरण बन्ने आशा रहेको जानकारी दिए ।
आइतबार साँझ उद्योग वाणिज्य महासंघको भवन र उद्योगहरुमा दिपावली गर्ने बताइएको छ ।यता उद्योग परिसंघले पनि सुखद क्षणलाई हामी दिपावली गरि स्वागत गर्न लागेको छ ।