Logo

इम्बोस्ड नम्बर प्लेट वितरण समयसीमा अनिश्चित, आवेदन सङ्ख्याका आधारमा समयसीमा तोक्ने तयारीमा विभाग

इम्बोस्ड नम्बर प्लेट वितरण समयसीमा अनिश्चित, आवेदन सङ्ख्याका आधारमा समयसीमा तोक्ने तयारीमा विभाग



काठमाडौं । सरकारले दुई साता पहिले शुरु गरेको इम्बोस्ड नम्बर प्लेट कहिलेसम्म वितरण गर्ने भनी टुंगो लागिसकेको छैन । इम्बोस्ड नम्बर प्लेट लिन आउने आवेदन सङ्ख्याका आधारमा समयसीमा तोकिने यातायात व्यवस्था विभागले जनाएको छ ।

अहिले एक÷दुई महिना कति चालकले आवेदन दिन्छन् भन्ने हेरेर योजना बनाइने विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । अहिले नम्बर प्लेट लिनका लागि आवेदन विभागको छपाइको क्षमताभन्दा बढी आएमा समयसीमा तोक्न नपर्ने उनको भनाइ छ । उनले भने, ‘यो महिनामा आवेदन नै नआएमा यो समयसम्म नम्बर प्लेट लिनुपर्ने भनी तोकिनेछ ।’

वाग्मती प्रदेशमा सबै प्रकारका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट वितरण शुरु गरिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ र प्रदेश–३ का भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुयाँलले संयुक्तरूपमा यही साउन ९ गते टेकुस्थित भेहिकल फिटनेस टेस्ट सेन्टरमा यसको वितरण शुरु गरेका थिए । ।

सो नम्बर प्लेट लिनका लागि पहिले सवारीधनीले हालसम्मको राजश्व चुक्ता गर्नुपर्छ । विभागको वेबसाइटमा रहेको फाराम भरेर प्रिन्ट गर्न सकिनेछ । सो प्लेटका लागि फरक प्रकृतिका सवारी साधनका लागि फरक कार्यालयमा जाने व्यवस्था मिलाइएको छ ।

दुईपाङ्ग्रे सवारी साधनका लागि गुर्जुधारास्थित कार्यालय र तीन पाङ्ग्रे साना तथा मझौला चारपाङ्ग्रे सवारी साधनको नम्बर लिनका लागि टेकुस्थित भेहिकल फिटनेस सेन्टर जानुपर्नेछ । त्यस्तै ठूला सवारी साधनका लागि एकान्तकुनास्थित यातायात कार्यालय र सरकारी नम्बरप्लेटका लागि विभागमा जानुपर्ने बताइएको छ । रासस

सवारीधनीले नम्बर प्लेट लिनका लागि तोकिएको बैंकमा राजश्व बुझाउनुपर्ने विभागले जनाएको छ । दुईपाङ्ग्रे सवारी साधनका लागि रु दुई हजार ५००, चारपाङ्ग्रे साना तथा मझौला सवारीका लागि रु तीन हजार २०० र ठूला सवारीका लागि रु तीन हजार ६०० राजश्व जम्मा गर्नुपर्नेछ ।

सवारीको कर चुक्तासम्बन्धी अद्यावधिक कागजात, नम्बर प्लेटवापतको रकम जम्मा गरेको बैंक भौचर र अनलाइन फाराम भरेको प्रिन्ट गरिएको कागजात तोकिएको कार्यालयमा जम्मा गर्नुपर्ने बताइएको छ । इम्बोस्ड नम्बर प्लेट सजिलै पढ्न सकिने र नम्बर निकाल्न नसकिने हुँदा सवारीसाधनको चोरी कम हुने र कुनै पनि सवारी साधन कहाँ छ भनी जानकारी हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्