Logo

बिहीबारदेखि सवारीसाधनमा पुनः जोरबिजोर प्रणाली लागू, बेलुका ९ बजेदेखि हिडडुल गर्न प्रतिबन्ध

बिहीबारदेखि सवारीसाधनमा पुनः जोरबिजोर प्रणाली लागू, बेलुका ९ बजेदेखि हिडडुल गर्न प्रतिबन्ध



काठमाडौं । सरकारले सवारीसाधनमा पुनः जोरबिजोर प्रणाली लागू गरेको छ । सरकारले लकडाउन अन्त्य भएको घोषणा गरेपनि पछिल्लो समय कोभिड १९ को संक्रमण बढ्दै गएपछि सवारीसाधनमा पुनः जोरबिजोर प्रणाली लागु गर्ने निर्णय गरेको हो ।

गृह मन्त्रालयले विज्ञप्ती जारी गर्दै काठमाडौं उपत्यका र २ सय भन्दा बढी कोरोना संक्रमण भएका जिल्लामा अत्यावश्यक सेवा बाहेकका सवारीसाधनमा बिहीबार (भोली) देखि जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो । साथै काठमाडौं उपत्यका प्रवेश गर्ने अत्यावश्यक ढुवानी बाहेकका अन्य सबै यात्रुबाहक सवारी साधनहरुलाई बेलुका ७ बजेदेखि विहान ७ बजेसम्म आवागमन निषेध गरिएको व्यवस्थालाई थप कडाईका साथ लागु गर्ने भएको छ ।

साथै नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय द्वारा जारी जनस्वास्थ्य मापदण्ड तथा गृह मन्त्रालयद्वारा जारी सुरक्षा मापदण्ड कडाईका साथ पालना गर्दै मास्क नलगाउने वा जनस्वास्थ्य मापदण्डको उल्लंघन गर्ने व्यक्तिलाई दण्ड जरिवाना गर्ने भएको छ । जनस्वास्थ्य मापदण्ड तथा सुरक्षा मापदण्ड उल्लंघन गर्ने व्यक्ति, समूह तथा संस्था भए सो को सञ्चालक समेतलाई कारवाही गरिने गृहको निर्देशनमा उल्लेख छ ।

साथै सरकारले बेलुका ९ बजेदेखि विहान ५ बजेसम्म हिडडुल गर्न समेत बन्देज लगाएको छ । कोभिडकोे संक्रमण जोखिम विश्लेषण गरी जोखिम बढेको क्षेत्रर स्थानलाई जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले निर्णय गरी तुरुन्त बन्द गर्ने, कोभिड १९ को थप परीक्षणको व्यवस्था मिलाउने भएको छ ।

यसैगरी नेपाल सरकारको निर्णय बमोजिम आगमन अनुमति पाएका व्यक्ति बाहेक अन्तर्राष्ट्रिय सीमा नाकामा हुने आवतजावतलाई कडाइका साथ निषेध गरिने भएको छ । साथै होटल, रेष्टुरेण्टमा हुने सामूहिक भोज, पार्टी, सेमिनार वा अन्य सामूहिक भेला जस्ता कार्य निषेध गर्ने गृहले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL