Logo

अमेरिकामा कोरोना भाइरसबाट पहिलो पटक कुकुरको मृत्यु, ६ हप्तासम्म झेलेको थियो संक्रमण

अमेरिकामा कोरोना भाइरसबाट पहिलो पटक कुकुरको मृत्यु, ६ हप्तासम्म झेलेको थियो संक्रमण



काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण अहिले विश्व नै त्रसित बनिरहेको छ । कोरोनाका कारण विश्वभरमा मृत्यु र संक्रमितको संख्या बढ्दै गइरहेको छ ।

यस्तै कोरोनाबाट मानिस मात्र नभई एक कुकुरको पनि मृत्यु भएको छ । कुकुरको कोरोनाभाइरसका कारण मृत्यु भएका यो पहिलो पटक हो । अमेरिकामा कोरोनाभाइरसबाट पहिलो पटक एक कुकुरको मृत्यु भएको हो ।

जर्मन शेपर्ड बडी नामको कुकुरको कोरोनाको कारण मृत्यु भएको सामाजिक संजाल ट्वीटरमा नताशा डालीले जानकारी गराएकी छिन् । न्याट जियोमाकी सम्पादक रहेकी नताशाले बिशेष जनावरहरुको कल्याण र संरक्षण सम्बन्धी लेख्ने गर्छिन् ।

उनले यसबारे बिशेष चर्चा गरेकी छिन् । गएको अप्रिलमा उसको सातौ जन्मदिनमा सास फेर्न गाह्रो भएको र ६ हप्ता पछि बडी अमेरिकामा कोरोना लाग्ने पहिलो कुकुर भएको बताइन् ।

बड्डी सात वर्ष पुग्नै लागेको थियो तर अप्रिलको मध्यतिर उसलाई सास फेर्न समस्या भयो । त्यसको ६ हप्तापछि बड्डी कोरोनाभाइरसको संक्रमण देखिने अमेरिकाको पहिलो कुकुर बन्यो । जुलाई ११ मा बड्डीको मृत्यु भयो ।

बड्डीका मालिक माहोनिजद्वारा प्रदान गरिएको मेडिकल रिपोर्ट नेशनल जोग्राफिकका दुई भेटेनरियनले बड्डी सम्भवतः लिम्फोमा नामको एक प्रकारको क्यान्सरसँग जुधिरहेको बताएका छन् । मृत्यु हुनुअघि उनमा त्यस्तै लक्षण देखिएको भेटेनरियनको निष्कर्ष छ । यद्यपि, यी दुई भेटनरियन बड्डीको उपचारमा भने संलग्न थिएनन् ।

माहोनिजले बड्डीको मृत्यु भएको दिनमात्रै उसको मृत्यु हुनुको सम्भावित कारण लिम्फोबारे थाहा भएको जानकारी दिए । त्यसअघि उनीहरुलाई यसबारे केही जानकारी थिएन । बडीको अतिरिक्त परीक्षण गरेपछि मात्रै यसबारे पत्ता लागेको निष्कर्ष निकालिएको छ । यद्यपि, क्यान्सरका कारण बड्डीलाई कोरोनाभाइरसको संक्रमण भएको हो वा भाइरसले उसलाई बिरामी बनाएको हो अथवा यो एउटा संयोग मात्रै हो भन्ने बारे अहिलेसम्म सटिक जानकारी प्राप्त भएको छैन ।

यसअघि बड्डीको पहिचान र उनको मृत्युबारे खासै जानकारी जारी गरिएको थिएन । बड्डीको मृत्युपछि उनको परिवारको थुप्रै प्रश्न छन् तर उत्तर निकै कम छन् ।

‘तपाईंले मेरो कुकुर कोरोनाद्वारा संक्रमित छ भन्दा उनीहरुले तपाईंलाई यसरी हेर्छन् मानौं तपाईंको १० वटा टाउको छ,’ एलिसन माहोनिजले भनिन् । ‘बडी हाम्रो जीवनको प्रेम थियो । उसले हामी सबैको जीवनमा खुसीयाली ल्याएको थियो । अब म उसको छातिमा आफ्नो टाउको राख्न सक्दिनँ ।’

माहोनिज परिवारलाई बडीको स्वास्थ्यमा स्वास्थ्यकर्मीले नजिकबाट निगरानी नराखिदिएकोमा चित्त दुखाई छ । बडीमा कोरोना संक्रमण देखिएपछि एलिसनका श्रीमान् रोबर्टले न्यूयोर्क सिटीका भेटेनरी स्वास्थ्य अधिकारीलाई बडीको थप परीक्षण गर्न इच्छुक हो भन्दै सोधीखोजी गरे तर रोबर्टका अनुसार अधिकारीले थप परीक्षणका लागि कहिले पनि सम्पर्क गरेनन् ।

न्यूयोर्क सिटी डिपार्टमेन्टट अफ हेल्थले नेशनल जोग्राफिकलाई बडीमा रक्तअल्पत्ता भएकोले उसको स्वास्थ्यलाई दृष्टिगत गर्दै थप रगत ननिकालेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL