रामराजा श्रेष्ठ
३० भदौ, काठमाडौं । संविधानसभाले नेपालको नयाँ संविधान २ तिहाई बहुमतले पारित गरेको छ । मतदानमा ५३२ सभासदले भाग लिएका थिए । जसमा संविधानको पक्षमा ५०७ मत परेको छ भने विपक्षमा २५ मत परेको छ । राप्रपा नेपालले विपक्षमा मतदान गरेको छ । असोज ३ गते ५ बजे औपचारिक समारोहका बीच राष्ट्रपतिले नयाँ संविधान घोषणा गर्नेछन् ।
संविधानले ३ सय ८ धारा पारित गरेको थियो । जसमा बुधबार संविधानमा थपिएका ६ धारा थपिएका थिए । त्यसपछि बसेको अर्को बैठकमा संविधानको सिंगो विधेयकमाथि मतदान भएर महुमतले पारित गरेको हो ।
संविधान सभामा रहेका कुल ५ सय ९८ मध्ये मधेस केन्द्रित ७ दलका ५७ र एमाओवादीका प्रभु साह सहित ५८ सभासदले मतदान बहिस्कार गरेका छन् । २ सभासद मतदान प्रक्रियामा सहभागी भएनन् ।
संविधनसभा सचिवालयले नेपाली कागजमा संविधानका ५ प्रति प्रकाशन गर्नेछ भने शुक्रबार बिहान ९ बजेदेखि ३ बजेसम्म सभासदहरुले त्यसमा हस्ताक्षर गर्ने छन् ।
असोज ३ गते साँझ ५ बजे संविधानसभामा विशेष समारोहबीच राष्ट्रपति रामवरण यादवले संविधान जारी भएको घोषणा गर्नेछन् ।
संविधानसभा अध्यक्ष सुवास नेम्वाङले संविधान घोषणाको बैठकमा औपचारिक राष्ट्रिय पोसाक वा आफ्नो सांस्कृतिक पहिचान झल्कने पोसाकमा उपस्थित हुन सभासदहलाई आग्रह गरेका छन् ।