बिजखबर संबाददाता
२८ भदौ,काठमाडौं । सरकारले लागू गरेको वैज्ञानिक भाडादर बढ्दा तत्काल बढ्ने र घट्दा नघट्ने समस्या देखिन थालेपछि यातायात व्यवस्था विभागले सार्वजनिक यातायातमा अनुगमन सुरु गरेको छ।
सार्वजनिक सवारीसाधनका चालक र सहयोगीले भाडा नघटाएको र दुव्यवहार गरेको गुनासो आउन थालेपछी अनुगमन गर्न थालेको हो । पटकपटक पेट्रोलियम पदार्थको भाउ घटेपछि विभागले भदौ २३ गते निर्णय गरी २५ गतेदेखि नयाँ भाडादर लागू गरेको थियो।
जसअनुसार न्यूनतम १३ रुपैयाँ भाडा कायम गरिएको छ ।
भाडादर वैज्ञानिक पद्धतिको भएकाले लागू गराउन अनुगमन सुरु गरिएको विभागका निर्देशक वसन्त अधिकारीले जानकारी दिए ।
सार्वजनिक यातायातमा पटकपटक भाडासम्बन्धी समस्या देखिएपछि सरकारले २०६५ फागुन २० देखि वैज्ञानिक भाडादर लागू गरेको थियो ।
सरकारले भदौ अघि २०७१ पुस ९ र माघ २६ मा पनि यही वैज्ञानिक पद्धतिअनुसार सार्वजनिक सवारीसाधनमा भाडादर घटाएको थियो । तर त्यो भाडादर भदौ २३ सम्म पनि लागू हुन सकेन । भाडादर लागू नगर्नेलाई कारबाही गर्न विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठको संयोजकत्वमा महासङ्घ, उपभोक्तावादी सङ्घ संस्था र ट्राफिक प्रहरीको सहभागितामा केन्द्रीय अनुगमन समिति गठन गरी आइतबारबाट काम सुरु गरिएको उनले बताए।