काठमाडौं । गृह मन्त्रालयले उपत्यका बाहिरबाट काठमाडौं भित्रिएकाहरुलाई १४ दिन होम क्वारेन्टिनमा रहन निर्देशन दिएको छ । मंगलबार उपत्यकाका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गर्दै मन्त्रालयले बाहिरबाट आएकालाई होम क्वारेन्टीनमा राख्नुपर्ने बताएका हुने ।
पछिल्लो समय घरधनीले पीसीआर विधिबााट कोरोना संक्रमण परीक्षण नगरी घरमा प्रवेश गर्न नदिने गरेको भन्दै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक हजार बढी जाने गरेका छन् ।
पीसीआर टेष्टका लागि आउनेहरु बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यका बाहिरबाट आउनेहरुलाई १४ दिनसम्म होम क्वारेन्टिनमा बस्ने र लक्षण देखिएमा मात्र अस्पताल आउने व्यवस्था गर्न गृहमा पत्र पठाएको छ ।
त्यसपछि गृहले काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुलाई स्वास्थ्यको पत्रअनुसार काम गर्न निर्देशन दिएको हो ।