Logo

डब्लुएचओले भनेकाले २० जनाको मृत्यु भएको मान्नु पर्यो, तर कोरोनाले नेपालमा २–३ जनाको मात्र ज्यान गएको छ : प्रधानमन्त्री

डब्लुएचओले भनेकाले २० जनाको मृत्यु भएको मान्नु पर्यो, तर कोरोनाले नेपालमा २–३ जनाको मात्र ज्यान गएको छ : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेसम्म मृत्यु भएका २० जनाको कोरोनाकै कारण मृत्यु नभएको दाबी गरेका छन् । बिहीबार राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री ओलीले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को निर्देशन मान्नु परेकाले नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ठूलो रहेको बताएका हुन् ।

उनले तीमध्ये दुई तीन जनाको मात्र कोरोनाबाट मृत्यु भएको बताए ।‘ुकोरोनाबाटै मृत्यु भएको दुई तीन वटा केस हुनसक्छ। बाँकीको भने अन्य कारणले मृत्यु भएको हो तर पछि कोरोनाले छोएको अवस्था हो,’ उनले भने।

प्रधानमन्त्री ओलीले उपचार विधि र नेपालीहरूको प्रतिरोधात्मक क्षमताका कारण निधन हुनेको संख्या धेरै कम रहेको जिकिर गरे। उनले विश्वको धेरै देशको तुलनमा नेपालमा कोरोनाबाट हुने मृत्युदर निकै कम रहेको जनाए । ‘प्रति १० लाखमा मृत्युदर ०।७ प्रतिशत छ। यो संसारको धेरै देशको भन्दा एकदम न्यून हो,’ उनले भने ।

परीक्षण गराउने, रोकथाम गर्ने र संक्रमित संख्या कम देखिनेमा नेपाल विश्व थुप्रै देशहरु भन्दा राम्रो भएको प्रधानमन्त्रीले बताए। “प्रति दश लाखमा १३ हजार परीक्षण दर छ। दक्षिण एसियामा भुटान भन्दा पछाडि हामी नै माथि छौं”, प्रधानमन्त्रीले भने।

नेपालमा संक्रमित संख्या समुदाय स्तरमा फैलिने नभएर भारतबाट आएकाहरुमा देखिएको बताए। ‘आउनेहरुको संख्या ठूलो छ। संक्रमित भएर आउनेहरुको संख्या ठुलो छ’, प्रधानमन्त्री ओलीले भने।

नेपालमा संक्रमित भएको भन्दा पनि भारतबाटै संक्रमित भएर आएको बताए। प्रधानमन्त्री ओलीले चैत यता नेपालमा भारतबाट भित्रिएकाहरुको संख्या प्रस्तुत गरे।

चैतमा भारतबाट १२ हजार ६५७, वैशाखमा एक हजार ७९९, जेठमा दुई लाख ४१ हजार ८६२, असारको तीन दिनमै सात हजार बढी आएको बताए। नेपालमा दैनिक ४५ सयको हाराहारीमा मात्रै परीक्षण भएको र भारतबाट धेरै आएकाले समस्या भएको बताए।

‘बाहिरबाट भन्न सजिलो छ। तर, यति ठूलो संख्यामा आएकालाई बस्ने क्वारेन्टिन, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र खानपिनको प्रबन्ध मिलाउन सजिलो छैन’, प्रधानमन्त्री ओलीले भने। अन्य देशबाट परीक्षण गरेर ल्याए पनि भारतबाट संभव नहुने बताए।

स्थानीय सरकारहरुले एउटा उपमहानगर पालिका बराबरको जनसंख्या व्यवस्थापन गर्नु सामान्य कुरा नभएको बताए। बेसार प्रयोग गर्न दिइएको सुझाबको आलोचना गरिएको भन्दै प्रधानमन्त्री ओलीले बेसारको उपयोगबारे समेत निकै लामो चर्चा गरे।

प्रतिक्रिया दिनुहोस्