Logo

गण्डकी प्रदेशमा बिहानै थपिए ४२ संक्रमित, हिमाली जिल्ला मनाङमा पनि पहिलोपल्ट कोरोना भाइरस संक्रमण पुष्टि

गण्डकी प्रदेशमा बिहानै थपिए ४२ संक्रमित, हिमाली जिल्ला मनाङमा पनि पहिलोपल्ट कोरोना भाइरस संक्रमण पुष्टि



काठमाडौं । हिमाली जिल्ला मनाङमा पनि पहिलोपल्ट कोरोना भाइरस संक्रमण पुगेको छ । मनाङका एक कर्मचारीमा पहिलोपल्ट कोरोना भाइरस संक्रमण फेला परेको छ ।

मनाङको चामे गाउँपालिकाका एक कर्मचारीसहित गण्डकी प्रदेशमा ४२ जना कोरोना संक्रमित थपिएका छन् । पूर्वी नवलपरासीमा १८, तनहुँमा १२, गोरखामा ११ र मनाङमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ ।

गण्डकी प्रदेशमा अब मुस्ताङ बाहेक १० वटै जिल्लामा कोरोना संक्रमित फेला परेका छन् । ४२ जना थपिएपछि गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या २८९ पुगेको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा। विनोद विन्दु शर्माका अनुसार मनाङको चामे गाउँपालिकामा कार्यरत एक जना पुरुष कर्मचारीमा कोरोना पुष्टि भएको हो । उनको स्थायी ठेगाना भने कपिलवस्तुको बाँणगंगा–१४ रहेको शर्माले जानकारी दिएका छन् ।

यसैगरी पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा १७ जनामा कोरोना पुष्टि भएको छ । उनीहरु १७ देखि ४५ वर्ष उमेर समूहका पुरुष हुन् । डा। शर्माका अनुसार दुई जनाको भने उमेर खुलेको छैन ।

यसैगरी पूर्वी नवलपरासीकै गैंडाकोट नगरपालिकाका २८ वर्षीय एक जना पुरुषमा पनि कोरोना पुष्टि भएको छ । तनहुँका १२ संक्रमितमध्ये ऋषिङ गाउँपालिकाका ७, भानु नगरपालिकाका ४ र शुक्लागण्डकी नगरपालिकाका एक जना छन् । उनीहरु १८ वर्षदेखि ५२ वर्ष उमेर समूहका पुरुष हुन् ।

यस्तै गोरखाको पालुङटार नगरपालिकामा ७ जना र शहिद लखन गाउँपालिकामा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पालुङटारमा २३ देखि ४६ वर्ष उमेर समूहका ६ जना पुरुष र ४० वर्षीया एक जना महिलामा संक्रमण देखिएको छ । गोरखाकै शहीद लखन गाउँपालिकामा ५४, ३१, ३८ र २७ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्