Logo

आजबाट लकडाउन खुकुलो भएपनि खुलेनन् यी व्यवसाय, सार्वजनिक यातायात खोल्न छलफल हुँदैं

आजबाट लकडाउन खुकुलो भएपनि खुलेनन् यी व्यवसाय, सार्वजनिक यातायात खोल्न छलफल हुँदैं



काठमाडौं । आजबाट लकडाउन खुकुलो भएको छ । आजै प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन जारी भएको र केही खुकुलो मात्र भएको स्पष्ट पारिसकेका छन् । उनले लकडाउनको पूर्ण पालना गर्न समेत आग्रह गरेका छन् । सरकारले वैकल्पिक शिक्षा पनि आजबाट शुरु गरिसकेको छ । आजबाट सिकाई प्रणाली आरम्भ गरिएको हो ।

दैनिक जीविकोपार्जनमा चुनौती बढेपछि सरकारले लकडाउन केही खुकुलो पारेको छ । कोरोना भाइरसको रोकथामका लागि लकडाउन गरेको ८३ दिनपछि अत्यावश्यक सेवाबाहेक तोकिएका क्षेत्र सञ्चालनको अनुमति दिइएको छ ।

निजी सवारी जोर बिजोर प्रणाली अनुसार सञ्चालनको अनुमति छ । उद्दोग कलकारखाना सावधानी अपनाएर सञ्चालन गर्न दिइएको छ । भौतिक पूर्वाधार निर्माणको अनुमति दिइएको छ । निर्माणसम्बन्धी कलकारखाना र उद्दोग पनि सञ्चालन अनुमति छ ।

शैक्षिक संघसंस्थाहरु अझै सञ्चालनको अनुमति दिइएको छैन । सरकारले लकडाउन खुकुलो बनाएपनि शेयर बजार भने नखुल्ने भएको छ। आइतबार साँझ बसेको नेपाल स्टक एक्सचेञ्जको सञ्चालक समितिको बैठकले हाललाई शेयर बजार नखोल्ने निर्णय गरेको हो।

बैठकले असार ४ गते बिहीवारसम्मको लागि थप चार दिन बजार बन्द गर्ने निर्णय गरेको हो । यसअघि जेठ ३२ गतेसम्मको लागि शेयर बजार बन्द गर्ने निर्णय भएको थियो।

यस्तै सार्वजनिक सवारीसाधन सुचारु गर्न यातायात व्यवस्था विभागले नयाँ निर्देशिका निर्माण गरे पनि व्यवसायीको असहमतिले सुचारु हुन सकेको छैन । कोरोनाको बन्दाबन्दी बिस्तारै खुकुलो बनाउने तयारीसँगै विभागले सार्वजनिक सवारी सञ्चालन गर्न निर्देशिका निर्माण गरेको थियो तर व्यवसायीले विरोध गरेपछि विभाग र व्यवसायीबीच उपसमिति बनाएर वार्ता तथा छलफल भइरहेको छ । नयाँ निर्देशिका कारोनाबाट सुरक्षित रहेर सार्वजनिक सवारी सञ्चालन गर्न तयार गरिएको विभागले जनाएको छ ।
विभागले तयार गरेको निर्देशिकाअनुसार व्यवसायीले सवारी सञ्चालन गर्न अस्वीकार गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सामाजिक दूरी कायम गर्न बसमा आधा मान्छे लिएर गुडेपछि आफूहरूको खर्चसमेत नउठ्ने जनाएको छ । सरकारले भाडा वृद्धि गर्नुपर्ने वा कुनै अनुदानको व्यवस्था गर्नुपर्ने महासंघको माग छ ।

के के सञ्चालन गर्न नपाइने
१) विद्यालय, कलेज, ट्युशज सेन्टर, तालिम केन्द्र गायत शैक्षिक संस्थाहरु ।
२) अनुमतिप्राप्त बाहेकका अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानहरु ।
३) तोकिएबाहेकका अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवात जावत ।
४) सबै प्रकारका सभा, गोष्टी र सेमिनार ।
५) सबै प्रकारका प्रदर्शन, भेला तथा सम्मेलन ।
६) सिनेमा हल, पार्टी प्यालेस, डान्सबार लगायतका मनोरञ्जन स्थलहरु ।
७) सार्वजनिक पुस्तकालय, संग्रहालय, चिडिया घर ।
८) स्पा, सैलुन तथा ब्यूटी पार्लरहरु ।
९) स्विमिङ पुल, जिमखाना लगायत हेल्थ क्लब ।
१०) सपिङ मल ।
११) समूहमा खेलिने खेलकुद र खेलमैदानमा हुने प्रस्तुति ।
१२) सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल ।
१३) यात्रुवाहक सार्वजनिक सवारी साधन (पर्यटक सवारी साधनसमेत)
१४) काठमाण्डौ उपत्यकाको हकमा काठमाण्डौ उपत्यकाभित्र र अन्यको हकमा सम्बन्धित जिल्लाभित्र मात्र जोर बिजोर प्रणाली सञ्चालन हुने निजी सवारी साधनबाहेक अन्य गाडीहरु नचलाउने ।

प्रतिक्रिया दिनुहोस्
MBL