Logo

अस्त्राजेनेका र युरोपको इन्क्लूसिव भ्याक्सिन अलायन्सबीच सम्झौता, युरोपका नागरिकले कोरोनाविरुद्ध ४० करोड डोज खोप पाउने

अस्त्राजेनेका र युरोपको इन्क्लूसिव भ्याक्सिन अलायन्सबीच सम्झौता, युरोपका नागरिकले कोरोनाविरुद्ध ४० करोड डोज खोप पाउने



काठमाडौं । भ्याक्सिन बनाउने कम्पनी अस्त्राजेनेकाले कोरोना भाइरसको भ्याक्सिन बनेमा युरोपलाई ४० करोड डोज भ्याक्सिन दिने सम्झौता गरेको छ । भ्याक्सिन बन्ने बित्तिकै युरोपलाई ४० करोड डोज भ्याक्सिन दिने गरी औषधी निर्माता कम्पनी अस्त्राजेनेकाले युरोपको इन्क्लूसिव भ्याक्सिन अलायन्ससँग सम्झौता गरेको हो ।

यो अलायन्सको नेतृत्व जर्मनी, फ्रान्स, इटली र नेदरल्याण्डले गरिरहेको छ । शनिबार यस्तो सम्झौता भएको जर्मन सरकारले जनाएको छ । यस्तै इटालीका स्वास्थ्यमन्त्री रोबर्टो स्पेरन्जाले पनि आफ्नो फेसबुकमार्फत खोप उपलब्ध गराउने विषयमा सम्झौता भएको जानकारी दिएका छन् ।

सम्झौता अनुसार कम्पनीले भ्याक्सिन बनाउने बित्तिकै यसको ४० करोड डोज युरोपलाई दिनेछ । यो भ्याक्सिन युरोपेली संघका सदस्य देशलाई दिइनेछ । युरोपेली भ्याक्सिन अलायन्सअघि अमेरिकाले अस्त्राजेनेकासँग सम्झौता गरेको थियो । अमेरिकाले कम्पनीमा १.२ अर्ब डलर लगानी गर्नेछ र भ्याक्सिन बनेपछि उसले ३० करोड डोज पाउनेछ ।

औषधि उत्पादक कम्पनीले यही वर्ष (सन् २०२०)को अन्तिमसम्म पहिलो चरणको खोप वितरण सुरु भइसक्ने जनाएको छ । अहिले अक्सोर्डले बनाएको यो भ्याक्सिनको तेस्रो चरणको ट्रायल भइरहेको छ । ब्रिटिश मेडिसिन एण्ड हेल्थकेयर प्रोडक्ट रेगुलेटरी एजेन्सीले यस भ्याक्सिनको तेस्रो चरणको ट्रायल अनुमति दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्