Logo

आज ऐतिहासिक दिन बन्दै, नयाँ नक्सासम्बन्धी संविधान संशोधन विधेयक पारित हुँदै

आज ऐतिहासिक दिन बन्दै, नयाँ नक्सासम्बन्धी संविधान संशोधन विधेयक पारित हुँदै



काठमाडौं । आज नेपालको इतिहासमा ऐतिहासिक दिन बन्ने भएको छ । संसदमा दर्ता गरिएको संविधान संशोधन विधेयक आज पारित हुँदै छ । दिउँसो १ बजे प्रतिनिधि सभाको बैठकबाट नक्सा सम्बन्धी नेपालको संविधान दोस्रो संशोधन विधेयक पारित गर्ने कार्यसूची तय भएको हो ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ माथि दफावार छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछिन् । दफाबार छलफलपछि उनीमार्फत नै विधेयक पारित गर्न प्रस्ताव प्रस्तुत गरिनेछ ।

लिम्पियाधुरा, कुटी, गुन्जी, नावीसहितको भूभाग समेटेर सार्वजनिक गरिएको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सालाई संवैधानिक मान्यता दिने गरी सरकारले संविधान संशोधन विधेयक ल्याएको हो । नक्सासम्बन्धी संविधान संशोधन विधेयकमा सबै राजनीतिक दलहरूले समर्थन जनाइसकेका छन् ।

२७ जेठको प्रतिनिधिसभामा भएको सैद्धान्तिक छलफलमा सबै दलहरूले यस विधेयकको पक्षमा मतदान गर्ने प्रतिबद्धतासहित मिचिएको भूमि फिर्ता गर्न भारत सरकारलाई आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL