Logo

एसइई परीक्षा खारेज गर्ने सरकारको निर्णय, आन्तरिक मूल्याङ्कनकै आधारमा ग्रेड निर्धारण

एसइई परीक्षा खारेज गर्ने सरकारको निर्णय, आन्तरिक मूल्याङ्कनकै आधारमा ग्रेड निर्धारण



काठमाडौं । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई) खारेज गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पेश गरेको प्रतिवेदनका आधारमा बुधबार बसेको मन्त्रिपरिषदको बैठकले एसइई खारेज गरेको हो ।

शिक्षा मन्त्रालयले कक्षा १० र ११ को एसइई हाललाई विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड निर्धारण र कक्षा १२ मा मात्रै उक्त परीक्षा लिन कानूनमा संशोधन गर्नेसहितको सिफारिस गरेको थियो । मन्त्रालयले गठन गरेको सुझाव कार्यदलको प्रतिवेदनअनुसार आन्तरिक मूल्याङ्कनसहित विभिन्न तीन विकल्प दिइ बुधबार बसेको मन्त्रिपरिषदमा पेश गरेको थियो ।

सोही प्रतिवेदनका आधारमा मन्त्रिपरिषदले एसइई खारेज गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन । यस अघि शिक्षामन्त्री गिरिराजमणि पोखरेलले प्रतिनिधिसभाको मङ्गलबारको बैठकमा माध्यमिक शिक्षासहित विभिन्न तहका परीक्षाका बारेमा आएका तीन विकल्पबारे गृहकार्य गरी सरकारले छिट्टै निर्णय गर्ने बताएका थिए ।

गत चैत ११ गतेदेखि जारी भएको बन्दाबन्दीका कारण सबै तहका शिक्षालयको पठनपाठन र परीक्षा स्थगित छन । यसबीचमा केही शिक्षालयले आफ्नो तरिकाले दूर तथा खुल्ला शिक्षालगायत वैकल्पिक प्रणालीबाट पढाइ शुरु गरे पनि मन्त्रालयले सिकाइ सहजीकरण निर्देशिका जारी गरी आउँदो असार १ देखि सबै विद्यालयमा वैकल्पिक विधिबाट सिकाइ प्रक्रिया शुरु गर्न आग्रह गरेको छ ।

कक्षा १० को एसइई परीक्षाका लागि ४ लाख ८२ हजार २१९ विद्यार्थीले आवेदन दिएका थिए भने १ हजार ९९५ परीक्षा केन्द्र निर्धारण गरिएको थियो । बोर्डले गत चैत ८ गतेदेखि हुने कक्षा १२ र चैत २५ गतेदेखि हुने भनिएको कक्षा ११ को परीक्षा पनि बन्दाबन्दीका कारण स्थगन गरेको थियो । विश्वविद्यालयका परीक्षा पनि स्थगन गरिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL