Logo

कोरोना कहर : विश्वभर संक्रमितको संख्या ७१ लाख नाघ्यो, ३५ लाख निको भए (अपडेट)

कोरोना कहर : विश्वभर संक्रमितको संख्या ७१ लाख नाघ्यो, ३५ लाख निको भए (अपडेट)



काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । मंगलबार बिहानसम्म संसारभरका ३५ लाख ३५ हजारभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार ३५ लाख ३५ हजार ५ सय ५४ जना कोरोनाबाट निको भएका हुन् । अहिले उपचार गरिरहेका अधिकांश संक्रमितको अवस्था पनि सामान्य रहेको छ ।

चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर ४ लाख ८ हजार ६१४ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या ७१ लाख ९३ हजार ४७५ छ ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोनाकै कारण मृत्यु हुनेको संख्या ५८१ छ भने हालसम्म १ लाख १३ हजार ५० जनाको मृत्यु भएको छ । एकैदिन १८ हजार २४२ जना संक्रमित थपिएसँगै त्यहाँ संक्रमित हुनेको संख्या २० लाख २५ हजार ६९१ पुगेको छ । कुल संक्रमितमध्ये ७ लाख ७१ हजार ७१३ जना संक्रमणमुक्त भएका छन् ।

छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ६५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ८ हजार ४४२ जना संक्रमित थपिएसँगै भारतमा कोरोना भाइरसको संक्रमण हुने मानिसको संख्या २ लाख ६५ हजार ९२८ पुगेको हो ।

एकैदिन २६६ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ७ हजार ४७३ पुगेको छ । एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा संक्रमितमध्ये १ लाख २९ हजार ९५ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्