Logo

अर्थमन्त्री भन्छन्, संविधान संशोधन गरेर मात्र जारी हुन्छ, लगानीको सुरक्षा हुनैपर्छ

अर्थमन्त्री भन्छन्, संविधान संशोधन गरेर मात्र जारी हुन्छ, लगानीको सुरक्षा हुनैपर्छ


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१८ भदौं, काठमाडौं । संविधान मस्यौदामा थुप्रै कमी कमजोरी भएको र त्यसमा सुधार गरेर मात्र जारी गरिने नेपाली कांग्रेसका नेता तथा अर्थमन्त्री डा.रामशरण महतले बताए ।

कास्कीको लेखनाथस्थित डाँडानाकमा निर्मित अनाथ सेवा आश्रम भवनको उद्घाटन गर्दै शुक्रबार उनले यसका लागि पार्टीभित्र पनि घनीभूत छलफल भैरहेको स्पष्ट पारे । ‘संविधानमा उल्लेख नगर्नुपर्ने विषयलाई हटाउने र पछिल्लो समयमा व्यक्त असन्तुष्टिहरुलाई समेत समेटेर संविधान जारी हुनेछ,’ उनले भने, ‘संविधानको प्रस्तावनादेखि नै आपत्तिजनक विषयहरु राखिएका छन ।’ संविधानका कतिपय धाराहरुमा उल्लेखित विषयहरुले नेपालको समृद्धितर्फको बाटोलाई नै अवरुद्ध गर्ने देखिएको समेत उनले जानकारी दिए ।
संविधानमा कुनै राजनीतिक सिद्धान्तलाई राख्न नहुने उनको भनाइ थियो । साथै, संविधानमा चाहेजति सबै कुरा राखिने विभिन्न इच्छाहरुको सूची नभएको समेत उनको कथन थियो ।

लामो सूची बनाएर तत्कालिन सोभियत रुसमा मौलिक अधिकारहरुको कार्यान्वयन नभएको र बेलायतमा अलिखित भएर सबैले चर्चा गर्ने गरेको प्रजातान्त्रिक व्यवस्था रहेको दृष्टान्त दिदै उनले राज्यले धान्न सक्ने र दिनसक्ने कुरा उल्लेख गर्नुपर्ने स्पष्ट पारे ।
उनले अहिले धार्मिक विषयमा पनि धेरैको असन्तुष्टि आइरहेको उल्लेख गर्दै यसमा पनि सबैको स्वतन्त्रता हुने र आ आफ्नो संस्कृति, रीतिरिवाज र परम्परालाई निरन्तरता दिन कुनै अप्ठेरो नहुने गरी संविधानमा व्यवस्था हुने बताए ।

finance-minister

 

एकात्मक राज्य व्यवस्थाको वकालत गर्नेहरु समेत अहिले बहुलबाद र उदार अर्थनीतिको पक्षमा आएको उल्लेख गर्दै बैचारिक ढंगले यो कांग्रेसको विजय भएको बताए । यसमा सवैले गौरव गर्न सक्नुपर्छ । ‘अहिले माओवादीका नेताहरु प्रचण्ड र बाबुरामहरु समेत पुँजीवादी क्रान्ति नभै समाजवाद प्राप्ति नहुने रहेछ भन्न थालेका छन,’ उनले भने, ‘सबै पक्षलाई समेटेर अगाडि बढ्दा कतिपय विषयहरुमा सम्झौता गर्नुपर्ने हुन्छ । ठूलो कुरा प्राप्तिका लागि सानातिना कुरा छोड्नुृपर्ने पनि हुन्छ ।’

तराईमा भैरहेको आन्दोलनका मुद्दाहरु पहिला नै सम्बोधन भैसकेको बताउँदै उनले संघीयता तराईको मुद्दा हो र यसै अनुरुप संविधान निर्माण भइरहेको जानकारी दिए । तराईमा आधारित राजनीति गर्ने दलहरुले जात जातिका बीच झगडा गराएर राजनीतिक स्वार्थसिद्धि गर्न खोजेका छन । जवर्जस्ती बन्द गराएर तराईका जनताको हित नभएको उनको भनाइ थियो ।

स्वदेशी र विदेशी लगानी आकर्षित नगरी मुलुक समृद्ध नबन्ने भन्दै उनले संविधानमा लगानी निरुत्साहित हुने व्यवस्था राख्न नहुने स्पष्ट पारे । ‘संसारमा लगानी प्रवद्र्धनका लागि बढीभन्दा बढी सुविधा दिने गरिन्छ तर हामीकहाँ हतोत्साहित गरिदैछ,’ उनले भने, ‘यो दुस्साहस कसैले नगरौं । लगानी नबढाई मुलुक समृद्ध हुँदैन । ’ राज्यसँग भएको कुरा जहिले दिएपनि हुन्छ । संविधानमै लेखेर दिन्छु भन्न जरुरी छैन । कतिपय कानून बनाएर गर्न सकिने विषयहरु पनि संविधानमै उल्लेख गर्न आवश्यक छैन ।

पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बढीमा एक महिनाभित्रै शिलान्यास हुन सक्ने तयारी भैरहेको जानकारी दिदै उनले यो विमानस्थल निर्माणपछि पोखराको पर्यटकीय नगरीको मुहार नै फेरिने बताए । उनका अनुसार भूकम्पका कारण र चीनसँग ऋण तथा व्याज मिनाहाका प्रक्रियाका कारण केही ढिलाई भएको हो । अव निर्माण कार्य छिटो अगाडि बढ्छ । यस क्षेत्रको विकासमा आफ्नो गम्भीर चासो रहेको स्पष्ट पारे । क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बन्दैछ, कास्कीको छिमेकमा अर्बौ लगानीमा जलाशययुक्त विद्युत आयोजना बन्दैछ, शिशुवा, भोर्लेटार, लमजुङ हुँदै मध्यपहाडी लोकमार्ग अगाडि बढ्दैछ । त्यसपछि यस क्षेत्रको चमत्कारिक विकास हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL