काठमाडौं । महोत्तरीको अनिल चौधरीलाई कतारमा मृत्युदण्ड दिएको छ । उनलाई कतारी नागरिक उमैर मोहम्मद उमैर अल रमाजानी अलनुयमीको हत्या अभियोगमा गोली हानी मृत्युदण्ड दिएको हो ।
नेपालीलाई मृत्युदण्ड दिएको कतारले यो नै पहिलो पटक हो । अदालतले सुनाएको फैसलाबमोजिम अनिल चौधरीलाई मृत्युदण्ड दिइएको हो । चौधरी महोत्तरीको औरही १ का बासिन्दा हुन । उनलाई नुयमीको हत्या गरेको अभियोगमा सन् २०१७ अप्रिलको पहिलो हप्ता कतारी प्रहरीले पक्राउ गरेको थियो ।
उनले नुयमीलाई दर्जनौंपटक खुकुरी प्रहार गरेको फैसलामा उल्लेख छ । चौधरीलाई मृत्युदण्ड दिइएकोबारे नेपाली दूतावास दोहाले काठमाडौंस्थित कन्सुलर विभागमा जानकारी गराइसकेको छ । कतार सरकारले उनको शव नेपाल ल्याउनसमेत अनुमति दिइसकेको छ ।
कतारमा मृत्युदण्ड सजायको फैसला सुनाइएका नेपाली अरू पनि छन, तर उनीहरुको सजाय कार्यान्वयन भने भइसकेको छैन । चौधरी २०१५ अगस्ट २७ तारिख कतार गएका थिए ।