Logo

नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु, मृतकको संख्या ३ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु, मृतकको संख्या ३ पुग्यो



काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । रुपन्देहीको मणिग्राममा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु भएपछि मृतकको संख्या ३ पुगेको हो । भेन्टिलेटरमा उपचार भइरहेको उनको बिहीबार विहान मृत्यु भएको अस्पतालले जनाएको छ ।
गुल्मी मदाने गाउँपालिका–६, का कोभिड संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

यसैगरी प्रदेश ५ सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा उमाशंकर चौधरीले पनि उनको मृत्यु भएको पुष्टि गरेका छन् । उनको बिहान ७ बजे मृत्यु भएको बताइएको छ । मृत्यु हुने बिरामी गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ६ का ४१ वर्षका पुरुष हुन् ।

शिक्षण पेशामा रहेका उनी बिरामी भएपछि अर्घाखाँचीको एक मेडिकलमा चेकजाँचपछि रुपन्देहीको मणिग्राममा रहेको क्रिमशन अस्पतालमा उपचारत थिए ।

उनको स्वास्थ्य अवस्था नाजुक भएका कारण अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । गत जेठ १ गते उनी अस्पतालमा भर्ना भएका थिए भने २ गते उनको स्वाब परीक्षणमा कोरोना संक्रमण देखिएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवाले पुष्टि गरेको थियो ।

यसअघि सिन्धुपाल्चोककी एक महिला र बाँकेका एक पुरुषको कोरोना संक्रमणबाटै मृत्यु भएको थियो । हालसम्म नेपालमा कोरोना संक्रमतिको संख्या भने ४४४ पुगेको छ । जसमा ४५ जना निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्