Logo

‘लकडाउन’ ५१ औ दिनमा : आजदेखि उल्लंघन गर्नेमाथि कडा कारवाहीको तयारी, भोलिदेखि सबै सवारी पास रद्द

‘लकडाउन’ ५१ औ दिनमा : आजदेखि उल्लंघन गर्नेमाथि कडा कारवाहीको तयारी, भोलिदेखि सबै सवारी पास रद्द



काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस(कोभिड–१९)को संक्रमण फैलन नदिन नेपाल सरकारले लागू गरेको लकडाउनको आज ५१ औं दिन हो । हालसरकारले जारी गरेको छैटौं चरणको लकडाउन चलिरहेको छ । सरकारले नेपालमा कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै पहिलोपटक चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ बिहान ६ बजेसम्म लकडाउन घोषणा गरेको थियो । यस्तै दोस्रो चरणमा लकडाउनको अवधि थप गर्दै चैत २५ सम्म बढाइएको थियो ।

यस्तै सरकारले तेस्रो चरणमा चैत्र २६ देखि वैशाख ३ मध्यरातसम्म, चौथो चरणमा वैशाख १५ मध्यरातसम्म र पाँचौं चरणमा वैशाख २५ मध्यरातसम्म लकडाउनको अवधि लम्ब्याउँदै गएको थियो । यसैक्रममा सरकारले बुधबार छैटौंपटक शुक्रबारदेखि देखि जेठ ५ मध्यरातसम्मका लागि लकडानको अवधि थप गरेको छ ।

५१ औं दिनसम्म आइपुग्दा यो अवधिमा केही उल्लंघनका घटनाबाहेक जनताले सरकारलाई अभुतपूर्व रुपमा लकडाउन कार्यान्वयनमा साथ दिएको देखिन्छ । ७ हप्ता बढी घरभित्रै बसेका अधिकांश जनताको अहिलेको सबैभन्दा प्रमुख चासो र चिन्ताको विषय लकडाउन कहिले खुल्छ ? भन्ने रहेको छ ।

सरकारले आगामी जेठ ५ गतेसम्मका लागि लकडाउन लम्ब्याए पनि केही क्षेत्रलाई भने खुकुलो पारेको छ । मन्त्रिपरिषद् बैठकले लक डाउन जेठ ५ गतेसम्म जारी राख्ने निर्णय गर्दै सर्तसहित केही खुकुलो बनाएको हो । लकडाउनका खुकुलो भएसँगै काठमाडौंमा चहलपहल बढेको छ । आइतबारदेखि सरकारी कार्यालय, बैंक, कृषि, उद्योग तथा कलकारखाना खुल्न थालेसँगै काठमाडौँ उपत्यकामा चहलपहल बढेको छ । उपत्यकाका मुख्य र भित्री सडकमा मानिसको भीड बढेको छ भने अत्यावश्यकबाहेकका सामग्री पसलसमेत खुलेका छन् ।

तर, मंगलबार नेपालमा अहिलेसम्मकै धेरै संक्रमित देखिएसँगै सरकारले लकडाउन कडा बनाउने भएको छ । मंगलबार मन्त्रीपरिषद बैठकमा प्रधानमन्त्रीले लकडाउन कार्यान्वयन नभएको र संक्रमण जोखिम थप बढेको भन्दै असन्तुष्टि जाहेर गरेसँगै लकडाउन आजैदेखि थप कडारुपमा कार्यान्वयनका लागि तयारी गरिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले घरमै बसेर लकडाउनको पालना गर्दा संक्रमण नफैलिने नीति अनुसार सरकारले लकडाउन गरेको सरकारले लकडाउनलाई प्रभावकारी बनाउन अनावश्यक आवागमन गर्नेलाई ‘संक्रमण रोग ऐन–२०२० अनुसार थुनामा राख्नेसम्मको कारबाही गरिने बताएको छ ।

कोभिड–१९ को संक्रमण रोक्न गृह मन्त्रालयले आवश्यक सुरक्षा सावधानीमा थप सतर्कता अपनाउने भएको छ । यसअघि पास प्राप्त भएपछि निर्बाध रुपमा एक जिल्लाबाट अर्काे जिल्लामा जान पाउने व्यवस्थालाई रोक्दै आवतजावतमा कडाइ गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले एक जिल्लाबाट अर्काे जिल्लामा मानिसहरुको अनावश्यक प्रवेश भएको र उपत्यकामा समेत भीडभाड बढेको भन्दै यस्तो निर्णय गरिएको जानकारी दिए । उनका अनुसार उक्त नियम आगामी बिहीबारबाट लागू हुनेछ । काठमाडौँ उपत्यकाको तीन जिल्लाका लागि भने उक्त नियम लागू हुनेछैन । यद्यपि कुनै जिल्लामा जानै पर्ने अवस्था आएमा जुन जिल्लामा जानुपर्ने हो त्यही जिल्ला प्रशासन कार्यालयको स्वीकृति अनिवार्य गरिने भएको छ । काठमाडौँ उपत्यका आउनुपरेमा गृह मन्त्रालयको स्वीकृति आवश्यक पर्नेछ ।

यस्तै सरकारले सञ्चालनको अनुमति दिएका सवारीको हकमा अहिले परिचयपत्र देखाएर जाने गरिएकामा अब भने नियामक निकायबाट जारी हुने पास अनिवार्य गर्न लागिएको छ । पासको दुरुपयोग भएको र पास नभएकाहरु समेत जथाभावी निस्कने गरेकाले उक्त व्यवस्था लागू गर्न लागिएको हो । गृह प्रवक्ता शर्माले भने–‘आज सुरक्षा अवस्थाको समीक्षा भयो, अनावश्यक मानिसको चहलपहल केही बढी देखियो, सेवा बढ्दा चहलपहल बढ्नु स्वाभाविकै हो तर चाहिनेभन्दा बढी पास लिने, फोर्स लगाउने काम भयो, त्यसलाई नियन्त्रण गर्न त्यस्तो व्यवस्था गर्ने निर्णय गरिएको छ, यो नियम बिहीबारबाट लागू हुन्छ ।’

मुलुकमा पछिल्लो समयमा बढी मात्रामा सङ्क्रमित व्यक्ति पहिचान हुन थालेपछि मानिसको आवतजावतमा कडाइ गर्नुपर्ने आवश्यकताका कारण उक्त निर्णय गरिएको गृहमन्त्रालयले जनाएको छ । आज एकै दिन ५७ जनामा कोभिड–१९ को सङ्क्रमण भेटिएपछि गृह सचिव महेश्वर न्यौपानेको नेतृत्वमा तीनवटै सुरक्षा निकायका प्रमुखसहितको बैठक बसेको थियो । उक्त बैठकले लकडाउनलाई थप व्यवस्थित बनाउँदै आवतजावतमा थप कडाइ गर्ने निष्कर्ष निकालेको हो । अन्तर जिल्लाका लागि अहिलेसम्म बाँडिएका त्यस्ता पास रद्द गर्ने निर्णय पनि भएको जनाइएको छ ।

लकडाउन थपिएको अवस्थामा जेठ ५ गतेबाट भने सबै पास रद्द गरेर नयाँ पासको व्यवस्था गर्ने समेत बैठकको निष्कर्ष रहेको जनाइएको छ । मुलुकमा आजसम्म कूल १९१ जना कोभिड–१९ का बिरामी फेला परेका छन् । यद्यपि यसअघि सञ्चालन भइरहेका अत्यावश्यक मालसामान ओसारपसार गर्ने र स्वास्थ्योपचारको सिलसिलामा हुने आवागमन भने कायमै राखिएको छ ।

मन्त्रालयले मंगलबार पास सम्बन्धमा जारी गरेको परिपत्रअनुसार एक जिल्लाबाट अर्काे जिल्लामा जाने गरी यसअघि जारी गरिएको पास सबै रद्द गर्ने, काठमाडौँ उपत्यकामा आउनुपरेमा गृह मन्त्रालयको स्वीकृति लिनुपर्ने, अत्यावश्यक कामका लागि एक जिल्लाबाट अर्काे जिल्लामा जानु पर्ने भएमा पास जारी गर्ने जिल्लाले जानुपर्ने जिल्लाको प्रमुख जिल्ला अधिकारीको स्वीकृति लिनुपर्ने छ ।

यस्तै पास स्वीकृतिका लागि अनुरोध गर्दा प्रयोजन र पुष्ट्याइँ समेत खुलाउनुपर्ने, उपत्यका प्रवेशका लागि पास जारी गर्दा पासमा गृह मन्त्रालयको स्वीकृति नम्बर समावेश गर्नुपर्ने तथा जारी भएको पास बिना एक जिल्लाबाट अर्काे जिल्ला जान लागेको अवस्था फेला परेमा शुरु जिल्लाले अर्काे जिल्ला पुग्नु अगावै सवारी आवागमन रोक्ने व्यवस्था मिलाउन मन्त्रालयले परिपत्र जारी गरेको छ । पछिल्लो समयमा मुलुकभर लकडाउन जारी भए पनि मानिसको आवागमन निक्कै बाक्लिएको छ । तर विभिन्न जिल्लाले भने यसअघि नै अन्तरजिल्लाको पास जारी नगर्ने निर्णय गरिसकेको छ ।

अर्कोतर्फ लकडाउनका कारण मुलुकका मुख्य शहर सुनसान छन् । पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या बढेर २१७ पुगेको छ । संक्रमितको संख्या थपिएपछि जनमानसमा त्रास उत्पन्न भएको छ भने संक्रमित मध्ये ३५ जना निको भएर फर्किएसँगै केही आशा पनि जागेको छ । जसमध्ये निको भइसकेका ३ जना संक्रमितमा पुनः कोरोना पोजेटिभ देखिएपछि पुनः अस्पताल भर्ना गरिएको छ ।
अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गर्दागर्दै पनि कतिपयले भने अटेरी गर्दै नियम उल्लंघन गरिरहेका छन् । लकडाउन उल्लंघन गर्नेहरुलाई प्रहरीले दिनहुँ पक्राउ गर्दै आएको छ । प्रहरीले अत्यावश्यक बाहेकका कामका लागि गाडी चलाएको पाइए चालकलाई फर्काएर बेलुकीमात्रै गाडी छाड्ने गरेको छ । पछिल्लो समय लकडाउन उल्लंघनकर्ता बढ्दा प्रहरीलाई सकस परेको छ । प्रहरीले लकडाउन उल्लंघन गर्ने सयौ सवारीलाई समेत दिनहुँ पक्राउ गरि कारवाही गरिरहेको छ ।

अरु गाडी चलाउन र अत्यावश्यक नपरि हिँडडुलमा पनि रोक लगाइएको छ । प्रहरीले त्यसरी नियन्त्रणमा लिएकाहरूलाई ठाउँको ठाउँ ३ घण्टासम्म ‘होल्ड’ गरेर पठाउने गरेको छ । यस अवधिमा प्रहरीले अत्यावश्यक काममा मात्रै घरबाहिर निस्किन आग्रह गरेको छ । औषधी उपचारदेखि खाद्यन्न सकिएको अवस्थालाई अत्यावश्यक काम भनिएको छ । त्यस्तो अवस्थामा प्रहरीको टोल फ्रि नम्बर १०० वा ड्युटीमा खटिएका प्रहरीका कमाण्डरलाई थाहा दिएर जान सकिने महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

लम्बिदो लकडाउनका कारण दैनिक ज्यालादारी र श्रममा बाँचिरहेका सर्वसाधारणलाई दैनिकी चलाउन निकै समस्या परेको छ । विशेष गरि बाहिरी जिल्लाबाट काठमाडौंमा आएर काम गरिरहेकाहरु अहिले निकै सकसमा रहेका छन् । धेरैजसो मुख्य सडकमा आवतजावत ठप्प छ भने भित्रि सडकमा सामान्य चहलपहल छ । प्रहरीले घर बाहिर ननिस्किन तथा उच्च सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL