Logo

प्रादेशिक जीडीपीको अनुमान सार्वजनिक, सबै प्रदेशको कुल गार्हस्थ उत्पादनको वृद्धिदरमा गिरावट

प्रादेशिक जीडीपीको अनुमान सार्वजनिक, सबै प्रदेशको कुल गार्हस्थ उत्पादनको वृद्धिदरमा गिरावट



काठमाडौं । नेपालको कुल कुल गार्हस्थ उत्पादन अर्थात जीडीपीमा प्रादेशिक कुल गार्हस्थ उत्पादनको अनुमान सार्वजनिक भएको छ ।

केन्द्रीय तथ्याङ्क विभागले आर्थिक वर्ष २०७६–७७ का ८ महिनासम्मका आर्थिक गतिविधिको आधारमा कुल गार्हस्थ उत्पादनको प्रक्षेपण सार्वजनिक गरेको जनाएको छ । तथ्यांक विभागका अनुसार सबै प्रदेशको कुल गार्हस्थ उत्पादनको वृद्धिदरमा गिरावट आएको छ ।

यो आर्थिक वर्षमा देशको कुल जीडीपी ३७ खर्ब ६७ अर्वको रहने अनुमान गरिएकोमा १३ खर्ब ५० अर्वको जीडीपी वाग्मती प्रदेशको रहेको छ । यो कुल जीडीपीको ३५ दशमलव ८४ प्रतिशत हिस्सा हुन आउँछ । सबैभन्दा कम हिस्सा कर्णाली प्रदेशको छ । कुल जीडीपीमा कर्णालीको हिस्सा १ खर्ब ६१ अर्व अर्थात ४ दशमलव २७ प्रतिशत रहेको छ ।

कुल जीडीपीमा प्रदेश १ को १५ दशमलव ८२, प्रदेश २ को १२ दशमलव ७८, गण्डकीको ८ दशमलव ९०, प्रदेश ५ को १४ दशमलव १८ र सुदूरपश्चिम प्रदेशको हिस्सा ७ दशमलव २१ प्रतिशत रहेको छ ।

तर जीडीपीको वृद्धिदरमा भने सुदूरपश्चिम प्रदेश अघि रहेको छ । देशको कुल जीडीपीको वृद्धिदर २ दशमलव २८ प्रतिशत अनुमान गरिएको छ । तर सुदूरपश्चिममा भने वृद्धिदर सबैभन्दा धेरै ४ दशमलव शून्य ८ प्रतिशत रहने अनुमान छ । सबैभन्दा कम वाग्मती प्रदेशको वृद्धिदर १ दशमलव १३ प्रतिशत मात्रै रहने अनुमान छ ।

प्रदेश १ को वृद्धिदर ३ दशमलव ४१ प्रतिशत, प्रदेश २ को २ दशमलव २८, गण्डकी प्रदेशको २ दशमलव ६८, प्रदेश पाँच को २ र कर्णाली प्रदेशको वृद्धिदर ३ दशमलव ५६ प्रतिशत रहने अनुमान रहेको तथ्याङ्क विभागले जनाएको छ । सबै प्रदेशको वृद्धिदर अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्