Logo

डिसहोममा आजबाट निर्मला पन्त हत्यामा आधारित चलचित्र ‘कोपिला’ प्रदर्शन हुँर्दै, दैनिक ८ शो प्रदर्शन हुने

डिसहोममा आजबाट निर्मला पन्त हत्यामा आधारित चलचित्र ‘कोपिला’ प्रदर्शन हुँर्दै, दैनिक ८ शो प्रदर्शन हुने



काठमाडौं । डिसहोम मार्फत आजबाट कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विषयमा निर्माण गरिएको चलचित्र ‘कोपिला’ प्रर्दशनमा आएको छ ।

आजबाट दैनिक ८ शो प्रदर्शन हुन लागेको यो चलचित्रलाई दर्शकहरुले घरमै बसेर आफ्नो समय अनुसार सिनेमा घरमा भन्दा पहिला आफ्नो टेलिभिजनमा हेर्न पाउने भएका हुन् । दर्शकहरुले चलचित्रलाई डिसहोम च्यानल नम्बर १०८ मार्फत हेर्न पाउने भएका हुन् ।

चलचित्रका निर्देशक शिभम अधिकारीले कोरोना भाइरसको कारण सिनेमाहल सञ्चालनमा आउन ढिलाई हुने भएका कारण लकडाउनमा बसेका दर्शकहरुको मागलाई सम्बोधन गर्दै डिसहोम च्यानल मार्फत चलचित्र प्रर्दशन गराउन लागिएको बताए ।

चलचित्रले यसअघि ट्रेलर सार्वजनिक गरेसँगै हेटौंडामा विशेष शो मार्फत आएको रकमबाट स्व निर्मला पन्तको परिवारलाई ५० हजार रुपैयाँ सहयोग समेत गरिसकेको चलचित्रका निर्माता मणिराज गौतमले जानकारी दिए । साथै चलचित्र प्रर्दशनबाट आएको रकमबाट दश प्रतिशत स्व। पन्तको परिवारलाई प्रदान गरिने निर्माता गौतमले बताए ।

चलचित्रमा निर्मलाको पात्रमा कोपिलालाई उतारिएको छ । बलात्कारपछि पनि लामो समयसम्म राजनीतिक दबाबका बीच अपराधी पक्राउ पर्न नसक्नु तथा अनुसन्धानलाई नै फितलो बनाइएको विषयलाई चलचित्रले बोल्ने निर्देशक अधिकारीले जानकारी दिए ।

गणेश गिरिको प्रस्तुति रहेको कोपिलालाई सञ्चारकर्मी मणिराज गौतमले निर्माण गरेका हुन् भने चलचित्रको कार्यकारी निर्मातामा सुबास काफ्ले तथा निर्मातामा समिर मिया र रामेश्वर कार्की समेत रहेका छन् ।

चलचित्रमा रामेश्वर कार्कीको छांयाकन, समिर मियाको सम्पादन र दीपक शर्माको संगीत रहेको छ । अधिकारीको लेखन तथा निर्देशनमा बनेको यो चलचित्रमा सरिता गिरी, गणेश गिरी र सन्जिवनी खरेलसँगै प्रकृती खरेल, ऋद्धिचरण श्रेष्ठ, विमल पौडेल, पुष्प आचार्य, सुशान्त श्रेष्ठ, अस्मिन घिमिरे, अस्मिता जुरेली, प्रतिक्षा खड्का, राखी क्षेत्री लगायतको अभिनय रहेको निर्माण टिमले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL