Logo

लकडाउनमा दोलखा प्रहरीको कमाउधन्दा, एकैरात उठाउँछन ६० हजार रुपैयाँसम्म

लकडाउनमा दोलखा प्रहरीको कमाउधन्दा, एकैरात उठाउँछन ६० हजार रुपैयाँसम्म



काठमाडौं । लकडाउनको मौका पारेर दोलखा प्रहरीले विभिन्न अवैध गतिविधि गर्दै कमाउधन्दा चलाएको भेटिएको छ । प्रकृतिको दोहन गर्दै लकडाउन जारी रहँदासमेत तामाकोशी नदीबाट हरेक राति ५० देखि ६० ओटासम्म गाडीमा बालुवा गिटी ढुवानी भईरहँदा प्रहरीले नै सहयोग गरिरहेको स्थानीयले आरोप लगाएका छन् । यस्तै जिल्ला प्रहरी कार्यालयले प्रहरी चौकीलाई भनेर ल्याएको गिटीबालुवासमेत स्थानीयलाई बिक्री गरेको पाईएको छ ।

त्यस्तै बिभिन्न स्थानबाट अबैधरुपमा ल्याएको काठ प्रहरीले सेटिङ मिलाएर जिल्ला भित्र्याउने र स्थानीयलगायत बिभिन्न फर्निचरहरुलाई बिक्री गरेको स्थानीयहरुको गुनासो रहेको छ । दोलखा किराँती छापमा रहेको अस्थाई चेकपोष्टमा कार्यरत प्रहरी असई कैलाश श्रेष्ठले प्रत्येक गाडीमार्फत १ हजार देखि १५ सय रुपैयाँका दरले उठाउँदै आएको पीडितहरुले बताएका छन् । जिल्लामा माथिल्लो तहदेखि नै सेटिङमिलाईरहेकाले श्रेष्ठले उक्त रकम उठाएको हुनु पर्ने गाडीचालकहरुको गुनासो रहेको छ ।

स्थानीय सवारी चालकले भने, ‘मेरो गाडीको पास पनि थियो त्यहीपनि मैले १ हजार रुपैयाँ बुझाएको छु ।’ एक रातमा मात्रै ५० देखि ६० हजार रुपैयाँ उठने भए पछि अहिले सो क्षेत्रमा रातभर चल्ने सवारीसाधनको लागि ढाट राख्ने कामसमेत गरेको बताए । तर, उक्त रकम लिए पनि प्रहरीले कुनै चिटसमेत नदिएको पीडितहरुको गुनासो रहेको छ ।

सडकमा ढाट राख्न नपाउने भए पनि लकडाउनमा रकम उठौतीका लागि करिब २० दिनदेखि किरातीछाप अस्थाई चेकपोष्टले भने ढाट राख्दै रकम असुल्दै आईरहेको छ । दिनभर लकडाउन गरेपनि राति गाडी चल्न दिने भएपछि सिन्धुली, रामेछापलगायतबाट आउने सवारीसाधनलाई बिभिन्न बहाना बनाएर १ हजार देखि १५ सय रुपैयाँ उठाउँदै आईरहेको छ ।

भीमेश्वर नगर प्रमुख भरत केसीले भने यो विषयमा आफुले भर्खरै जानकारी पाएको बताए । ‘पास नहुनेलाई कारवाही हुनु स्वभाबिक हो । तर, पास भएपछि पैसा दिनु गलत हो’, उनले भने, ‘हामीले दिएको पासको के काम भो त पैसा दिनु परे पछि ।’ उनले त्यस्ता पास हुने सवारीसाधनलाई पैसा नतिर्न र प्रहरीले पैसा मागेमा जिल्ला प्रहरी कार्यालय वा नगरपालिकामा सम्पर्क गर्नसमेत आग्रह गरेका छन ।

त्यस्तै जिल्ला कार्यालयका प्रहरी प्रमुख रेवतीरमणले भने यस विषयमा आफुलाई कुनै जानकारी नभएको बताएका छन् । अहिलेसम्म कसैले उजुरी नगरेका कारण आफुलाई थाहा नभएको उनले बताए । तर, पीडितहरुले भने आफुहरुको गाडी सधैं गुडाउनु पर्नेभए पछि उजुरी नगरेको बताउँछन । भन्छन, ‘उजुरी गरेर के गर्ने हामीलाई वान्टेडमा राख्छन । पछि केही गल्ती नभए पनि प्रहरीले दुख दिने काम गर्ने भएपछि किन उजुरी दिने ?

प्रतिक्रिया दिनुहोस्
MBL