Logo

विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या घट्दै, ४१ लाख ७७ हजार बढी संक्रमितमध्ये करिब १५ लाख निको

विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या घट्दै, ४१ लाख ७७ हजार बढी संक्रमितमध्ये करिब १५ लाख निको



काठमाडौं । विश्वभर कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या केहि कमी हुँदै आएको छ । कोरोना महामारीबाट सबैभन्दा आक्रान्त बनेको अमेरिकामा पनि कोरोनाबाट ज्यान गुमाउनेको संख्या केहि कम हुँदै आएको छ ।

गएको २४ घण्टामा विश्वभर कोरोनाबाट तीन हजार ४६३ जनाको ज्यान गएको र ७८ हजार ८४७ जना नयाँ बिरामी थपिएका वल्र्डओमिटरले जनाएको छ । यसअघि चार हजार २४८ जनाको ज्यान जानुका साथै ८८ हजार ९८८ जना नयाँ बिरामी थपिएका थिए ।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै उत्तर अमेरिकामा २३ हजार ५०६ जना नयाँ बिरामी थपिएका छन् भने एक हजार १०६ जनाको ज्यान गएको छ । विश्वभर हालसम्म कोरोना महामारीका कारण ज्यान गुमाउनेको संख्या दुई लाख ८३ हजार ६८७ पुगेको छ । ४१ लाख ७७ हजार बढी संक्रमितमध्ये करिब १४ लाख ८८ हजार उपचार पछि निको भएका छन् ।

बेलायतमा दुई लाख १९ हजार बढी संक्रमित छन् भने मृत्यु हुनेको संख्या ३१ हजार ८५५ पुगेको छ । यस्तै स्पेनमा दुई लाख ६४ हजार ६ सय बढी संक्रमित र २६ हजार ६२१ जनाको मृत्यु भएको छ ।

इटालीमा कोरोना संक्रमितको संख्या दुई लाख १९ हजार बढी हुँदा मृतकको संख्या ३० हजार ५ सय नाघेको छ । यस्तै फ्रान्समा करिब एक लाख ७७ हजार संक्रमितमध्ये मृत्यु हुनेको संख्या २६ हजार ३ सय नाघेको छ ।

जर्मनीमा एक लाख ७१ हजार ८ सय बढी संक्रमित र सात हजार ५ सय बढीको मृत्यु भएको छ । चीनमा ८२ हजार ९ सय संक्रमित छन् भने चार हजार ६३३ जनाको मृत्यु भएको छ । यस्तै रसियामा संक्रमितको संख्या बढेर करिब दुई लाख १० हजार र मृतकको संख्या एक हजार ९१५ पुगेको छ ।

भारतमा पनि कोरोना संक्रमित र मृत्यु हुनेको संख्या थपिंदै गएको छ । करिब ६७ हजार एक सय बढी संक्रमित हुँदा मृत्यु हुनेको संख्या दुई हजार २१२ पुगेको छ । उता पाकिस्तानमा कोरोना संक्रमितको संख्या ३० हजार ३ सय बढी छ भने ६५९ जनाकोे मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्