Logo

आजदेखि संसद्को बजेट अधिवेशन शुरु, यस्तो छ कार्यसूची

आजदेखि संसद्को बजेट अधिवेशन शुरु, यस्तो छ कार्यसूची



काठमाडौं । संघीय संसद्को छैटौँ अधिवेशन शुक्रबारदेखि शुरु हुँदैछ । शुक्रबार अपराह्न ४ः०० बजे संघीय संसद्को बैठक बस्ने तयारी गरिएको छ । बजेट अधिवेशनका रुपमा समेत लिइने यस अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र राजश्व तथा व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ ।

शुक्रबारको बैठकमा छैटौँ अधिवेशन प्रारम्भसम्बन्धी पत्र तथा राष्ट्रपतिबाट संघीय संसद् दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेसम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची तय गरिएको छ । संघीय संसद्का महासचिव डा भरतराज गौतमका अनुसार शुक्रबारको बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुले अधिवेशन प्रारम्भ भएको अवसरमा मन्तव्य दिनेलगायतका कार्यसूची तय गरिएको छ ।

आगामी जेठ ४ गते प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका तय भएको संघीय संसद् सचिवालयले जनाएको छ । आगामी जेठ १३ गते आर्थिक वर्ष २०७६÷७७ को आर्थिक सर्वेक्षण पेश गर्ने सम्भावित कार्यतालिका छ । यसैगरी जेठ १५ गते दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ । राष्ट्रपतिले यही वैशाख २१ गते प्रधानमन्त्रीको सिफारिसमा संघीय संसद्को छैटौँ अधिवेशन शुक्रबारका लागि आह्वान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL