Logo

‘लकडाउन’ ४५ औ दिनमा : आज पाँचौ चरणको लकडाउन सकिदैं, भोलिदेखि लकडाउन छैटौं चरणमा

‘लकडाउन’ ४५ औ दिनमा : आज पाँचौ चरणको लकडाउन सकिदैं, भोलिदेखि लकडाउन छैटौं चरणमा



काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस(कोभिड–१९)को संक्रमण फैलन नदिन नेपाल सरकारले लागू गरेको लकडाउनको आज ४५ औं दिन हो । आज सरकारले जारी गरेको पाँचौ चरणको लकडाउन सकिदैं छ । सरकारले नेपालमा कोरोना संक्रमण निण्यन्त्रणका लागि भन्दै पहिलोपटक चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ बिहान ६ बजेसम्म लकडाउन घोषणा गरेको थियो । यस्तै दोस्रो चरणमा लकडाउनको अवधि थप गर्दै चैत २५ सम्म बढाइएको थियो ।

यस्तै सरकारले तेस्रो चरणमा चैत्र २६ देखि वैशाख ३ मध्यरातसम्म, चौथो चरणमा वैशाख १५ मध्यरातसम्म र पाँचौं चरणमा वैशाख २५ मध्यरातसम्म लकडाउनको अवधि लम्ब्याउँदै गएको थियो । यसैक्रममा सरकारले बुधबार छैटौंपटक भोलि (शुक्रबार) देखि जेठ ५ मध्यरातसम्मका लागि लकडानको अवधि थप गरेको छ ।

४५ औं दिनसम्मको यो अवधिमा केही उल्लंघनका घटनाबाहेक जनताले सरकारलाई अभुतपूर्व रुपमा लकडाउन कार्यान्वयनमा साथ दिएको देखिन्छ । छ हप्ता बढी घरभित्रै बसेका अधिकांश जनताको अहिलेको सबैभन्दा प्रमुख चासो र चिन्ताको विषय लकडाउन कहिले खुल्छ ? भन्ने रहेको छ ।

सरकारले आगामी जेठ ५ गतेसम्मका लागि लकडाउन लम्ब्याए पनि केही क्षेत्रलाई भने खुकुलो पारेको छ । मन्त्रिपरिषद् बैठकले लक डाउन जेठ ५ गतेसम्म जारी राख्ने निर्णय गर्दै सर्तसहित केही खुकुलो बनाएको हो । सर्तसहित औषधिजन्य वस्तुको उत्पादन, विक्रि वितरण, दैनिक उपभोग्य वस्तुको उत्पादन र विक्रि वितरण, निर्माणजन्य सामग्रीको ढुवानी, बैंकिङ सेवा सञ्चालन, कृषिजन्य वस्तु उत्पादन र विक्रीवितरण गर्न पाउने निर्णय गरेको छ । सम्बन्धित स्थानीय तहमा गठन भएको समितिबाट अनुमति लिएर कृषि तथा पशुपक्षी सम्बन्धि, खाद्यवस्तु र अन्य बाली लगाउने भित्र्याउने काम गर्न पाउने निर्णय गरेको छ ।

यसैगरी फलफुल र दुग्धजन्य वस्तुको उत्पादन र विक्रि वितरण गर्न पाउने, स्वास्थ्य सेवाका क्षेत्रहरु, भेटेनरी सञ्चालन, र पाठ्यपुस्तक विक्रि वितरण गर्ने पसल तथा ढुवानी गर्ने सवारीहरु जनक शिक्षा सामग्रीबाट अनुमति लिएर गर्न पाउने निर्णय सरकारले गरेको हो । उद्योग प्रतिष्ठान, विकास निर्माणका लागि आवश्यक सामग्री ढुवानी गर्न पाउने निर्णय पनि सरकारले गरेको छ ।
यस्तै राष्ट्रिय गौरबका आयोजनाहरु सञ्चालन गर्ने, जलविद्युत, खानेपानी, विमानस्थल निर्माणका काम सुचारु गर्न दिने निर्णय पनि सरकारले गरेको छ । त्यसका लागि सम्बन्धित निर्माण कम्पनीले दैनिक रुपमा श्रमिकरुको स्वास्थ्य परीक्षण गर्नुपर्ने, एकै ठाउँमा बास बस्ने व्यवस्था मिलाउने सर्त राखेको छ ।

यस्तै गिट्टी बालुवा उत्पादन गर्न पाइने निर्णय पनि सरकारले गरेको छ । बैंक तथा वित्तिय संस्थाहरुले बढीमा एक तिहाइ कर्मचारीबाट सेवा प्रदान गर्न सक्ने निर्णय पनि सरकारले गरेको छ । सार्वजनिक सेवाका क्षेत्रहरुमा एक चौथाई सवारीलाई मात्र पास उपलब्ध गराउने, सञ्चालनमा आउने विभिन्न उद्योग प्रतिष्ठानहरुले श्रमिकलाई छुट्टै स्थानमा बस्ने व्यवस्था मिलाएर काम गर्ने, स्थानीयसँग सम्पर्क नहुनेगरी खाजाको व्यवस्था गर्ने र त्यसको खर्च उद्योगहरुले व्यहोर्ने र कार्यस्थललाई नियमित स्यानिटाइजेसन गरी काम सुचारु गर्न दिने निर्णय पनि सरकारले गरेको छ ।

यस्तै इन्टरनेट, वर्कसप लगायतका क्षेत्रहरुमा बढीमा ५ जना कामदार रहनेगरी सञ्चालन गर्न पाउने निर्णय पनि सरकारले गरेको छ । अन्तर्राष्ट्रिय सीमानाकाहरु जेठ १८ गतेसम्म बन्द राख्ने निर्णय पनि सरकारले गरेको छ । सीमानाका खुला गरेपनि खाद्यान्न लगायत अत्यावश्यक सामग्री बोकेका सवारी भने सञ्चालन हुनेछन् । विश्वविद्यालय, क्याम्पस, विद्यालयलगायत सबै शैक्षिक संस्था, तालिम तथा प्रशिक्षेण केन्द्र, गैर खाद्य वस्तु बिक्री गर्ने व्यवसायिक मलहरु, सिनेमा हल, पार्टी प्यालेस, फनपार्कलगायतका सार्वजनिक स्थल, मन्दिर, मस्जिद, चर्च, गुम्बाजस्ता धार्मिक स्थलहरु तथा धार्मिक र सांस्कृतिक कार्यक्रमहरु निषेधकै अवस्थामा रहनेछन् ।

त्यस्तै रंगशाला, खेलकुदस्थल, फुटसल, शारीरिक सुगठन (जिम हल), नृत्य प्रशिक्षण, फिटनेस सेन्टर, सैलुन, ब्युटिपार्लरहरु खोल्न पाइने छैन् । राजमार्ग बाहेकका होटल, बार, रेस्टुँराहरु खोल्न पाइने छैन् । स्थानीय प्रशासनबाट सवारी पास पाएका बाहेक सबै प्रकारका यात्रुबाहक सवारी साधनहरु चलाउन पाइने छैन् । १२ वर्षभन्दा मुनिका बालबालिका, असक्त, ७० वर्षभन्दा माथिका वृद्धवृद्धा, ज्येष्ठ नागरिक, गर्भवती महिलाले हिँडडुल र घुमघामका गतिविधि गर्न पाइने छैन् । आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान गर्न पाइने छैन् । केबलकार र रेलसेवा संचालन गर्न पनि रोकिएको छ ।
लकडाउनका कारण काठमाडौं उपत्यकालगायत मुलुकका मुख्य शहर सुनसान छन् । पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या बढेर ९९ पुगेको छ । संक्रमितको संख्या थपिएपछि जनमानसमा त्रास उत्पन्न भएको छ भने संक्रमित मध्ये २० जना निको भएर फर्किएसँगै केही आशा पनि जागेको छ । जसमध्ये निको भइसकेका ३ जना संक्रमितमा पुनः कोरोना पोजेटिभ देखिएपछि पुनः अस्पताल भर्ना गरिएको छ ।

घरमै बसेर लकडाउनको पालना गर्दा संक्रमण नफैलिने नीति अनुसार सरकारले लकडाउन गरे पनि त्यसलाई उल्लंघन गर्नेहरु पनि उल्लेख्य छन् । सरकारले लकडाउनलाई प्रभावकारी बनाउन अनावश्यक आवागमन गर्नेलाई ‘संक्रमण रोग ऐन–२०२० अनुसार थुनामा राख्नेसम्मको कारबाही गरिने निर्णय गरेको छ । अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गर्दागर्दै पनि कतिपयले भने अटेरी गर्दै नियम उल्लंघन गरिरहेका छन् । लकडाउन उल्लंघन गर्नेहरुलाई प्रहरीले दिनहुँ पक्राउ गर्दै आएको छ ।

प्रहरीले अत्यावश्यक बाहेकका कामका लागि गाडी चलाएको पाइए चालकलाई फर्काएर बेलुकीमात्रै गाडी छाड्ने गरेको छ । पछिल्लो समय लकडाउन उल्लंघनकर्ता बढ्दा प्रहरीलाई सकस परेको छ । प्रहरीले लकडाउन उल्लंघन गर्ने सयौ सवारीलाई समेत पक्राउ गरेको छ । लकडाउनका कारण अहिले देशभर सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कुटनीतिक नियोग, एम्बुलेन्स, अत्यावश्यक र जिल्ला प्रशासनबाट अनुमति लिएका गाडी मात्र चलिरहेका छन् ।

अरु गाडी चलाउन र अत्यावश्यक नपरि हिँडडुलमा पनि रोक लगाइएको छ । प्रहरीले त्यसरी नियन्त्रणमा लिएकाहरूलाई ठाउँको ठाउँ ३ घण्टासम्म ‘होल्ड’ गरेर पठाउने गरेको छ । यस अवधिमा प्रहरीले अत्यावश्यक काममा मात्रै घरबाहिर निस्किन आग्रह गरेको छ । औषधी उपचारदेखि खाद्यन्न सकिएको अवस्थालाई अत्यावश्यक काम भनिएको छ । त्यस्तो अवस्थामा प्रहरीको टोल फ्रि नम्बर १०० वा ड्युटीमा खटिएका प्रहरीका कमाण्डरलाई थाहा दिएर जान सकिने महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

लम्बिदो लकडाउनका कारण दैनिक ज्यालादारी र श्रममा बाँचिरहेका सर्वसाधारणलाई दैनिकी चलाउन निकै समस्या परेको छ । विशेष गरि बाहिरी जिल्लाबाट काठमाडौंमा आएर काम गरिरहेकाहरु अहिले निकै सकसमा रहेका छन् । धेरैजसो मुख्य सडकमा आवतजावत ठप्प छ भने भित्रि सडकमा सामान्य चहलपहल छ । प्रहरीले घर बाहिर ननिस्किन तथा उच्च सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL