Logo

लकडाउन पछि साढे २ अर्बको औषधि आयात, बिभिन्न नाकाबाट भित्रिए ७ सय ट्रक

लकडाउन पछि साढे २ अर्बको औषधि आयात, बिभिन्न नाकाबाट भित्रिए ७ सय ट्रक



काठमाडौं । लकडाउन शुरु भएपछिको ४० औं दिनमा करीब पौने तीन अर्ब रुपैयाँबराबरको तयारी औषधि आयात भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार बन्दाबन्दीपछि हालसम्म १ अर्ब ६९ करोड ५४ लाख ४८ हजार रुपैयाँबराबरको तयारी औषधि र ३४ करोड १९ लाख ७८ हजार रुपैयाँबराबरको औषधिको कच्चा पदार्थ आयात भएको छ ।

मन्त्रालयको तथ्याङ्क अनुसार एक लाख २३ हजार ६२७ मेट्रिक टन खाद्यान्न, ३५ हजार १३१ मेट्रिक टन दलहन, ५२ हजार ४७९ मेट्रिक टन तरकारी, १६ हजार ८६२ मेट्रिक टन फलफूल र ११ हजार ५९ मेट्रिक टन दुग्धजन्य पदार्थको आयात भएको छ ।

लकडाउनपछि खाद्य पदार्थको आयात बढेको छ । पहिलो हप्ताको तुलनामा पाँचौँ हप्तामा खाद्यान्नमा एक सय ३६ प्रतिशत र दलहन तथा गेडागुडीको आयातमा ८५ प्रतिशतले वृद्धि भएको छ । यसैगरी तरकारी र फलफूलको आयात क्रमशः ३९ र ३१६ प्रतिशतले वृद्धि भएको छ । यही अवधिमा औषधिको कच्चा पदार्थको आयात ११८ र तयारी औषधिमा ५१ प्रतिशतले वृद्धि भएको छ । भारतको पश्चिम बंगाल सरकारले आफ्ना सबै नाका बन्द गरेका कारण गत चैत २७ गतेपछि झापाको काँकडभिट्टा नाकाबाट सामान आयातनिर्यात भने ठप्प भएको छ ।

बिभिन्न नाकाबाट भित्रिए ७ सय ट्रक

बन्दाबन्दीमा वीरगञ्ज एकीकृत जाँचचौकीबाट २५६ ट्रक भित्रिएको, २४७ ट्रक बाहिरिएको र ७१७ ट्रक रोकिएका छन । त्यस्तै वीरगञ्ज सुख्खा बन्दरगाहबाट १८० ट्रक भित्रिएको, ११२ ट्रक बाहिरिएको र दुई हजार ९४६ ट्रक रोकिएका छन ।

भैरहवा नाकाबाट ७९ ट्रक भित्रिएको, १३६ ट्रक बाहिरिएको र २४९ ट्रक रोकिएका छन । विराटनगर एकीकृत जाचँचौकीमा १४६ ट्रक भित्रिएको, १०५ ट्रक बाहिरिएको र १५४ ट्रक उतै रोकिएका छन । विराटनगर सुख्खा बन्दरगाहमा चार ट्रक र काँकरभिट्टा नाकामा २३ गरी २७ ट्रक रोकिएका छन/रासस

प्रतिक्रिया दिनुहोस्
MBL