Logo

सिमानाकामा तत्काल ५ सय आउट बोर्डर पोष्ट राख्ने गृहको तयारी, थप ९ हजार सशस्त्र प्रहरी परिचालन गरिने

सिमानाकामा तत्काल ५ सय आउट बोर्डर पोष्ट राख्ने गृहको तयारी, थप ९ हजार सशस्त्र प्रहरी परिचालन गरिने



काठमाडौं । गृहमन्त्रालयले सिमानाकामा थप कडाइ गर्दै सशस्त्र प्रहरीको बिओपीको संख्या पाँच सय पुर्याउने तयारी गरेको छ ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले दिएको निर्देशन अनुरुप सशस्त्र प्रहरी बलले सो सम्बन्धि खाका तयार पारि आज गृहमन्त्रालयमा गृहमन्त्री र मन्त्रालयका अधिकारी समक्ष प्रस्तुत गरेको हो । हाल सिमामा १२१ बिओपी रहेकोमा त्यसलाई बढाएर पाँच सय पुर्याउने सरकारको तयारी रहेको छ ।

नेपालतर्फको सिमानाकामा भारतको ५३० बिओपी रहेकोमा नेपालले पनि सोही अनुपातमा बिओपी थप्ने तयारी गरेको हो । प्रस्ताव अनुसार सो संख्यामा जनशक्ति खटाउन ९ हजार जनशक्ति थप गर्नुपर्ने प्रस्ताव पनि सशस्त्रले राखेको छ । हाल सरदर १५ किलोमिटरको दुरिमा रहेको बिओेपी त्यसपछि ३.५ किलोमिटर सिमामा रहनेछ ।

बिओपी थप सम्बन्धि गृहमन्त्रालयको छलफलमा गृहमन्त्री थापाले सिमा व्यवस्थापनको विषयलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउँदै बिओेपी थप सम्बन्धि प्रस्ताव आफुले मन्त्रीपरिषदमा लैजाने बताएका छन । उनले सशस्त्र प्रहरीले तयार पारेको प्रस्ताव राम्रो रहेको भन्दै बिओेपी रहने स्थान, आवश्यक पुर्वाधारलगायतका विषयमा थप विस्तृत प्रस्ताव ल्याउन सशस्त्र प्रहरी बलका महानिरिक्षक शैलेन्द्र खनाललाई निर्देशन दिएका छन ।

शान्त, समृद्ध र स्वाधीन नेपालका लागि सिमा व्यवस्थापन अनिवार्य शर्त रहेको बताउँदै गृहमन्त्री थापाले यसका लागि राज्यले बजेटमा कन्जुस्याइँ गर्न नहुने बताए । तत्कालै वा चरणवद्ध रुपमा पाँच सय स्थानमै बिओेपी स्थापना प्रक्रिया अगाडि बढाईने उनले प्रतिवद्धता व्यक्त गरेका छन ।

उनले अहिले जटिल परिस्थितिमा सिमित, स्रोत र साधनका बाबजुद सिमामा कोरोना नियन्त्रणका लागि सुरक्षानिकायले खेलेको भूमिका प्रशंसनीय रहेको टिप्पणीसमेत गरेका छन । गृहसचिव महेश्वर न्यौपानेले सिमाको विषय संवेदनशील विषय भएकोले सिमाबाट हुने अपराध, चोरी, तस्करी नियन्त्रणका लागिसमेत बिओेपी बढाउनुको विकल्प नरहेको बताए ।

उनले भन्सारको १११ ठाउँमा रहेको जग्गा बिओपीलाई दिन अर्थ मन्त्रालय सकारात्मक देखिएको जानकारी दिँदै अन्य स्थानमा प्रदेश सरकार, स्थानीय निकाय र जिल्ला प्रशासनसँगको समन्वयमा आवश्यक जग्गा खोज्न सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन । यसअघि सिमाक्षेत्रमा ८७ बिओपीमात्रै रहेकोमा गृहमन्त्री थापाले गृहमन्त्रालय सम्हालेपछि यसमा ठुलो संख्यामा थप गरि १२० पुर्याएको हो ।

त्यस्तै बिओपी संख्या २२१ पुर्याउने गृहमन्त्रीको प्रस्ताब मन्त्रीपरिषद्ले यसअघिनै पारित गरिसकेको छ । यसअघि बिओपीमा करिव ५ हजार जनशक्ति रहेकोमा कोरोनाको संक्रमणका कारण सिमा सिलपछि ८ हजार ३८३ थप जनशक्ति सिमामा थपिएको हो । गृहमन्त्री थापाले पहाडी र हिमाली जिल्ला, हेडक्वाटरलगायतका स्थानमा रहेका जनशक्ति घटाएर सिमामा पठाउन निर्देशन दिएसँगै अहिले ठुलो संख्यामा सिमामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिएका छन् ।

सशस्त्रको १२१ स्थानमा मात्रै बिओेपी रहेपनि कोरोनाको संक्रमणका कारण सिमा सिलपछि त्यसलाई बिस्तार गरि १२ सय स्थानमा अस्थायी र स्थायी पोस्ट बिस्तार गरिएको सशस्त्रले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL