Logo

आज बिहानै लकडाउन उल्लंघन गर्ने ७८४ जना पक्राउ, सडकमै ३ घण्टा उभ्याउनेदेखि सडकमै खादा लगाएर लज्जित बनाउनेसम्मका कारवाही

आज बिहानै लकडाउन उल्लंघन गर्ने ७८४ जना पक्राउ, सडकमै ३ घण्टा उभ्याउनेदेखि सडकमै खादा लगाएर लज्जित बनाउनेसम्मका कारवाही



काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन सरकारले लागू गरेको लकडाउनको आज ४१ औं दिन हो । ४१ औं दिनसम्मको यो अवधिमा केही उल्लंघनका घटनाबाहेक जनताले सरकारलाई अभुतपूर्व रुपमा साथ दिएको देखिन्छ ।

लकडाउन उल्लंघन गर्नेलाई हरेक दिन प्रहरीले विभिन्न कारावही गर्दै आइरहेको छ । यसैक्रममा आज प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट लकडाउन उल्लंघन गर्ने ७ सय ८४ जनालाई पक्राउ गरेको छ । अत्यावश्यक बाहेक घर बाहिर ननिस्किन प्रहरीले आग्रह गर्दा गर्दै पनि अटेरी गर्ने ७८४ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।

जसमध्ये लकडाउन उल्लघंन गर्दै सडकमा निस्कने १ सय ९६ जना महिला समेत रहेका छन्। प्रहरीले उनीहरुलाई तीन घण्टासम्म सडकमा उभ्याएर घर फर्काउने गरेको छ। यस्तै काठमाडौंकै केही ठाउँमा लकडाउन उल्लंघन गर्नेलाई सडकमा नै खादा लगाएर लज्जित बनाउनेसमेत गरिएको छ ।

हिजो शनिबार मात्रै सवारीसाधनको पासमा आफैँले मिति सच्याउँदै सवारी चलाउने, पासको दुरुपयोग गरेका कारण दर्जनौँ कारबाहीमा परेका छन् ।
आइतवार बिहान ८ बजेसम्म प्रहरीले २ सय ४ वटा सवारी साधनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

कोरोना भाइरसको संक्रमण रोक्न सरकारले गत चैत ११ गतेबाट लकडाउन घोषणा गरेको हो। पछिल्लो पटक थपिएको लकडाउनको समय वैशाख २५ गते सकिँदैछ। लकडाउनको आज ४१ औं दिन पुगेको छ ।

यसैबीच हालसम्म नेपालमा ५९ जना कोरोना संक्रमित भेटिएका छन् । ती मध्ये १६ जना निको भएर घर फर्केका छन् भने बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL