Logo

यो वर्ष विवाहका लागि १८ वटा मात्रै लगन : बैशाखमै धेरै लगन, लकडाउनका कारण विवाह प्रभावित

यो वर्ष विवाहका लागि १८ वटा मात्रै लगन : बैशाखमै धेरै लगन, लकडाउनका कारण विवाह प्रभावित



काठमाडौं । वैदिक विधिअनुसार विवाह गर्न चाहनेका लागि २०७७ मा जम्मा १८ वटा मात्र लगन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जानकारी दिएको छ । समितिका अनुसार वर्षको पहिलो महिना वैशाखमा सबैभन्दा बढी ७ ओटा लगन रहेको छ । समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमका अनुसार बैशाखको १३, १४, १९, २०, २२, २३ र २५ गते लगन जुरेको समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख गरेको छ ।

कोरोना भाइरसको संक्रमणबाट बच्न जारी बन्दाबन्दीका क्रममा यी सबै लग्न सकिनेछन् । गत चैत ११ गतेदेखि कोभिड–१९ को संक्रमणबाट बच्न सरकारले बन्दाबन्दी गरेको छ । वैशाख २५ गतेपछि पनि बन्दाबन्दी बढ्ने सम्भावना हुनसक्छ । पहिलो महिनामा दिइएको वर्षकै सबैभन्दा बढी विवाहको लगन बन्दाबन्दीमै सकिने भएपछि यो वर्ष लगनगाँठो कस्ने योजना बनाइरहेका युवायुवती प्रभावित हुने भएका छन् ।

यसैगरी जेठको ४, ५, १० र ३१, असारमा ११, १३ र १४, मङ्सिरको १६, २१, २२ र २६ गते गरी जम्मा १८ ओटा मात्रै लगन निस्किएको समितिले जानकारी दिएको छ । यस वर्ष मङ्सिरपछि भने विवाहको लागि लगन नभएको समितिले जानकारी दिएको छ । माघ र फागुनमा बृहस्पति एवं शुक्र ग्रह अस्त हुने भएकाले विवाहको लगन ननिस्किएको अध्यक्ष गौतमले सुनाए ।

यस वर्ष जेठ १७ गते शनिबार पश्चिममा शुक्र अस्त भई २६ गते सोमबार पूर्वमा उदय हुन्छ । यसैगरी माघ ४ गते आइतबार बृहस्पति पश्चिममा अस्त भई फागुन २ गते आइतबार नै पूर्वमा उदाउने छ । माघ ३० गते शुक्रबार शुक्र पूर्वमा अस्त भएपछि २०७८ लागेपछि मात्र उदाउने भएकाले यस वर्ष माघ र फागुनमा विवाह एवं व्रतबन्धका साइत ननिस्किएको समितिले जानकारी दिएको छ ।

बृहस्पति (गुरु), शुक्र अस्त भएका बेला गृहप्रवेश, घर निर्माण आरम्भ (गृहआरम्भ), सप्ताह श्रवण, यज्ञयागादिलगायत शुभकर्म पनि गर्न नहुने समितिले जानकारी दिएको छ । गौतमले भने, ‘गुरु, शुक्र अस्तका बेला नित्यरूपमा गरिने पूजा, पाठ, जप आदि गर्नुहुन्छ, यसैगरी नैमित्तिक रूपमा गरिने श्राद्ध, काजक्रिया, बालक जन्मँदा जातकर्म गर्नुहुन्छ, कुनै फलको कामना राखेर गरिने काम्य कर्म गर्नु हुँदैन, यसैले विवाह, व्रतबन्ध, गृहप्रवेश, गृहारम्भको साइत नदिइएको हो ।’

विगत वर्षमा माघ र फागुनमा समेत विवाहको मुहूर्त हुन्थ्यो । महिनाका हिसाबले माघ र फागुन विवाह गर्न हुने नै महिना हुन् । गत वर्ष विसं २०७६ मा भने विवाहका ६६ लग्न थिए/रासस

प्रतिक्रिया दिनुहोस्
MBL