Logo

कोरोना भाइरस : विश्वभर २ लाख ४४ हजारको मृत्यु, संक्रमित ३५ लाख नजिक, ११ लाख बढी निको भए (अपडेट)

कोरोना भाइरस : विश्वभर २ लाख ४४ हजारको मृत्यु, संक्रमित ३५ लाख नजिक, ११ लाख बढी निको भए (अपडेट)



काठमाडौं । विश्वव्यापी कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट संक्रमितको संख्या ३४ लाख ७९ हजार ८७५ पुगेको छ । आइतबार बिहान ६ बजेसम्मको तथ्याङ्कअनुसार विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई लाख ४४ हजार ५९६ पुगेको छ । शनिबार मात्रै कोरोना संक्रमणबाट विश्वमा ५ हजार १४८ जनाको ज्यान गएको छ ।

पछिल्लो २४ घण्टामा विश्वरभर ८१ हजार ७८१ नयाँ संक्रमित थपिएको वर्ल्डओमिटरले जनाएको छ । संक्रमितमध्ये अहिलेसम्म ११ लाख ८ हजार ६५ जना उपचारपछि निको भएका छन् ।

पछिल्लो २४ घण्टामा अमेरिकामा कोरोना संक्रमणबाट एक हजार ६४३ जनाले कोरानाबाट ज्यान गुमाएका छन् । योसँगै अमेरिकामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६७ हजार ३९६ पुगेको छ ।

अमेरिकामा संक्रमितको संख्या ११ लाख ५९ हजार ५६४ पुगेको छ भने एक लाख ६० हजार ७०५ जना उपचारपछि निको भएका छन् । यस्तै लण्डनमा शनिबार ६२१ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् भने इटालीमा ४७४ जनाको ज्यान गएको छ ।

त्यस्तै शनिबार ब्राजिलमा ३४०, इक्वेडरमा ३०८, स्पेनमा २७६, क्यानाडामा १७५, मेक्सिकोमा ११३, फ्रान्समा १६६, जर्मनीमा ७६, टर्कीमा ७८, नेदरल्याण्डमा ९४, इरानमा ६५, रसियामा ५३, बेल्जियममा ६२, पेरुमा ७६ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।

हालसम्म कोरोना संक्रमणका कारण इटालीमा ज्यान गुमाउनेको संख्या २८ हजार ७१० पुगेको छ भने स्पेनमा २५ हजार एक सय, युकेमा २८ हजार १३१, फ्रान्समा २४ हजार ७६९ जनाको कोरोनाबाट ज्यान गएको छ ।

छिमेकी देश भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक सय जनाले ज्यान गुमाएका छन् । त्यहाँ अहिलेसम्म मृतकको संख्या एक हजार ३२३ पुगेको छ भने संक्रमितको संख्या ३९ हजार ६९९ पुगेको छ ।

त्यहाँ शनिबार मात्रै दुई हजार ४४२ जना नयाँ संक्रमित थपिएका छन् । अहिलेसम्म भारतमा एक हजार ८१९ जना उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्