काठमाडौं, १८ बैसाख । विश्वव्यापी कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट संक्रमित मध्ये १० लाख ३३ जना निको भएका छन् । यस्तै संक्रमणबाट ज्यान गुमाउनेका संख्या दुई लाख २७ हजार ९२५ पुगेको छ ।
बिहीबार बिहान साढे ६ बजेसम्मको तथ्याङ्क अनुसार कोरोना संक्रमितको संख्या ३२ लाख १६ हजार ९६७ पुगेको वल्र्डओमिटरले जनाएको छ । त्यस्तै संक्रमितमध्ये १९ लाख ९० हजारभन्दा धेरैको उपचार भइरहेको छ ।
उपचार गराइरहेकामध्ये ३ प्रतिशतको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको वल्र्डओमिटले जनाएको छ । बुधबार विश्वभर कोरोना संक्रमणबाट ६ हजार ४५८ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा विश्वभर कोरोनाका ८० हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका वर्ल्डओमिटरले जनाएको छ ।
अमेरिकामा कोरोनाबाट ज्यान गुमाउको संख्यामा अझै कमी आएको छैन । आइतबार र सोमबार मृत्यु केही कम भए पनि मंगलबार र बुधबार अमेरिकमा दैनिक दुई हजार भन्दा धेरैको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा अमेरिकामा कोरोना संक्रमणबाट दुई हजार ३५२ जनाले ज्यान गुमाएका छन् । योसँगै त्यहाँ कोरोनाबाट मर्नेको संख्या ६१ हजार ६१८ पुगेको छ । अमेरिकामा मात्रै संक्रमितको संख्या १० लाख ६३ हजार नाघेको छ । बुधबार एकै दिन अमेरिकामा साढे २७ हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।
त्यसैगरी युकेमा बुधबार ७६५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । त्यस्तै स्पेनमा ४५३, फ्रान्समा ४ सय २७, ब्राजिलमा ४४८, इटालीमा ३२३, मेक्सिकोमा १३५, स्वीडेनमा १०७, नेदरल्यान्डमा १४५, क्यानाडामा १३७, बेल्जियममा १४५, रसियामा १०५, जर्मनीमा ९१, टर्कीमा ८९, इरानमा ८०, पेरुमा ८९ जनाले ज्यान गुमाएका छन् ।
छिमेकी देश भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७१ जनाले ज्यान गुमाएका छन् । भारतमा अहिलेसम्म मृतकको संख्या एक हजार ७९ पुगेको छ भने संक्रमितको संख्या ३३ हजार नाघेको छ ।
भारतमा बुधबार मात्रै एक हजार ७३८ जना नयाँ संक्रमित थपिएका छन् । अहिलेसम्म भारतमा ८ हजार ४३७ जना उपचारपछि निको भएका छन् ।