बिजखबर संबाददाता
३१ साउन,काठमाडौं । सन् २०१५ को जुलाईमा चीनको सुन सञ्चितिमा उच्च बृद्धि भएको छ ।
सो अवधिमा चीनको सुन सञ्चिति १९ टनभन्दा बढीले बढेको चिनियाँ समाचार संस्था सिन्ह्वाले बताएको छ । जुनमा १ हजार ६ सय ५८ टन रहेकोमा जुलाईमा भने १ दशमलव १६ प्रतिशतले बढेको हो । हल सुन सञ्चिती १ हजार ६ सय ७७ दशमलव ३० टनमा उक्लिएको केन्द्रीय बैंक पिपल्स बैंक अफ चाइना (पीबीओसी)को तथ्यांकलाई उद्धृत गर्दै सिन्ह्वाले बताएको हो ।
सो अवधिमा भएको सुन सञ्चितिको मूल्य ७० करोड डलर बराबर रहेको बताइएको छ । गत महीनामा पीबीओसीले सुन सञ्चितिको तथ्यांक सार्वजनिक गरेको थियो । जुलाईमा बैंकले गरेको सुन सञ्चितिको तथ्यांक सन् २००९ को अप्रिल यताकै पहिलो हो ।
विगत ६ वर्षमा चीनको सुन सञ्चिति ५७ प्रतिशतभन्दा बढीले बढेको बैंकको भनाइ छ । चीन विश्वकै ठूलो सुन उत्पादक राष्ट्र भए पनि सञ्चितिमा भएको वृद्घिले उत्पादन सुस्ताएकोप्रति संकेत दिएको बताइएको छ ।
सुनमा आधारित सम्पत्ति राख्ने राष्ट्रको सूचीमा चीन विश्वको पाँचौं ठूलो हो ।